काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीले उनलाई आइतबार बिहान महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।
एक उच्च प्रहरी अधिकारीका अनुसार उजुरीका आधारमा जबरालाई नियन्त्रणमा लिइएको हो। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विषयवस्तु र आरोपबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो।
महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबराविरुद्धको प्रस्ताव संसद्बाट पारित हुन सकेन। तर, त्यसपछि पनि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन्।
निलम्बित अवस्थामै उनको प्रधानन्यायाधीशको कार्यकाल समाप्त भएको थियो। अहिले भने उनीविरुद्ध परेको नयाँ उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
