तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित ग्यारेजमा फलामको डण्डी प्रहार गरी सहकर्मीको हत्या गरेको आरोपमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतको मोतिहारी जिल्ला घर भई हाल चिसापानीस्थित सोही ग्यारेजमा काम गर्दै आएका ५० वर्षीय लालवचन शाहको फलामको डण्डी प्रहारबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार भारतको बेतिया जिल्ला घर भएका तथा सोही ग्यारेजमा काम गर्ने ३२ वर्षीय जावेद आलमले गएराति मादक पदार्थ सेवन गरी शाहको टाउकोमा फलामको डण्डी प्रहार गरेका थिए। गम्भीर घाइते शाहलाई तत्काल उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो।
अस्पताल पुर्याइएका शाहलाई चिकित्सकले राति ८ः३५ बजे मृत घोषणा गरेका थिए।
घटनापछि आलम फरार भएका थिए। घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले फरार आलमको खोजी थालेको थियो।
खोजीका क्रममा प्रहरीले आलमलाई आँबुखैरेनी गाउँपालिका–३ स्थित भित्री बजारबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ। घटनाको कारण तथा घटनासँग सम्बन्धित थप विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
