काठमाडौं । कलंकी क्षेत्रमा बसेर ठेक्कापट्टाको काम गरेबापत रकम माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्ने ३० वर्षीय भुपाल जंग खड्का रहेका छन्।
प्रहरीका अनुसार खड्काले ठेक्कापट्टाको काम गरेबापत रकम नदिए ज्यान लिने धम्की दिँदै अश्लील शब्द प्रयोग गरी फोन तथा म्यासेजमार्फत रकम माग गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त थानकोटमा जाहेरी परेको थियो।
जाहेरीपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले असोज २ गते कलंकी क्षेत्रबाट खड्कालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका खड्कालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटमा राखिएको छ।
उनीमाथि ज्यान मार्ने धम्की, रकम माग तथा घटनासँग सम्बन्धित विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
