विराटनगर । जोखिमपूर्ण अवस्थामा आफैं सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरेर अचेत अवस्थामा रहेका एक नागरिकको सकुशल उद्धार गरेका इलाममा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवश रिमाल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रिमाललाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो।
इलाम नगरपालिका–७, कुलधारास्थित कुवेरप्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी निरीक्षक रिमालको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
उद्धारका क्रममा रिमाल स्वयंले जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल बाहिर निकालेका थिए।
कर्तव्य निर्वाहका क्रममा उच्च जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेलेको, अनुशासन, व्यावसायिकता र कर्तव्यनिष्ठा प्रदर्शन गरेको तथा नागरिकमा सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय योगदान गरेको भन्दै रिमाललाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी संगठनका विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
आफ्नो सुरक्षाभन्दा नागरिकको जीवनलाई प्राथमिकता दिँदै जोखिमपूर्ण उद्धारमा देखाएको साहसका कारण रिमालले कोशी प्रदेश प्रहरीभित्रै विशेष पहिचान बनाएका छन्।
