मोरङ । भोटेकोशी बाढीपछि बेपत्ता रहेकी इन्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गरेकी छन्। तर, उनको सफलताको खबर परिवारका लागि खुसीभन्दा बढी पीडादायी बनेको छ—किनकि ऋचा अझै परिवारको सम्पर्कमा छैनन्।
लोकसेवा आयोगले असोज ८ गते सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा ऋचाको नाम क्रम संख्या १२ मा समावेश भएको छ। उनले सब–इन्जिनियर पदका लागि परीक्षा दिएकी थिइन्।
मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भएकी ऋचा पछिल्लो ६ महिनादेखि २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्।
भदौ १० गते आएको भोटेकोशी बाढीपछि आयोजनामा कार्यरत ऋचासहित केही व्यक्ति बेपत्ता भएका थिए। त्यसयता उनको परिवार छोरीको सकुशल खबरको पर्खाइमा छ।
ऋचाकी दिदी रक्षा निरौलाका अनुसार ऋचाले आफू ‘फ्रेसर’ भएकाले अनुभवका लागि मात्रै लोकसेवा परीक्षा दिने बताएकी थिइन्। तर, पहिलो प्रयासमै उनले लिखित परीक्षामा सफलता हात पारेकी छन्।
ऋचाको नाम लोकसेवाको नतिजामा आएपछि परिवार र आफन्तमा एकातिर गर्व र खुसी छाएको छ भने अर्कोतिर उनको अवस्थाले पीडा थपेको छ।
परिवारका लागि अहिले ऋचाको लोकसेवा सफलताको खबरभन्दा ठूलो खुसी उनको सकुशल फिर्ती हुनेछ। उनीहरू अझै एउटै आशामा छन्- ‘ऋचा फर्केर आऊन्।’
