वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बहुअरी क्षेत्रमा भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई लक्षित गरी ट्राफिक प्रहरीले अनधिकृत रकम असुल्ने गरेको आरोप लागेको छ।
एकीकृत जाँच चौकी (आईसीपी) अलौबाट भन्सार जाँचपास भएर निस्किएका भारतीय नम्बरका मालवाहक गाडीलाई बहुअरी क्षेत्रमा रोकेर ओभरलोडको बहाना बनाउँदै रकम माग्ने गरिएको चालकहरूको गुनासो छ।
चालकहरूका अनुसार माग गरिएको रकम नदिए विभिन्न बहाना बनाएर गाडी रोक्ने, अनावश्यक दुःख दिने तथा गालीगलौजसमेत गर्ने गरिएको छ। उनीहरूले बहुअरी ट्राफिक बिटमा प्रति गाडी ५ सयदेखि १ हजार रुपैयाँसम्म रकम मागिने गरेको हो।
‘ओभरलोड’को नाममा रकम उठाउने
आईसीपीबाट जाँचपास भएर निस्किएका मालवाहक सवारीसाधनमाथि निगरानी गर्ने क्रममा नियम उल्लंघन भेटिए कानुनी कारबाही गर्नुपर्ने भए पनि रकम लिएर छाड्ने गरिएको आरोप छ।
स्थानीय तथा चालकहरूको दाबीअनुसार बहुअरी क्षेत्रमा यस्तो गतिविधि नियमितजस्तै बनेको छ। विशेषगरी भारतीय नम्बर प्लेटका गाडीलाई लक्षित गरी रकम उठाउने गरिएको उनीहरूको भनाइ छ।
पर्सामा बहुअरी र ड्राइपोर्ट क्षेत्रका ट्राफिक प्रहरीमाथि भारतीय मालवाहक तथा ओभरलोड सवारीबाट रकम असुलीको आरोप यसअघि पनि सार्वजनिक हुँदै आएको देखिन्छ।
बिटको अगाडि ‘मोबाइलको बत्ती’मा चेकजाँच ?
बहुअरी चोकस्थित ट्राफिक प्रहरी बिटमा हुने चेकजाँचको शैलीमाथि समेत प्रश्न उठाइएको छ।
स्थानीयका अनुसार बिटको अगाडिको भाग छोपेर पर्याप्त प्रकाशबिना मोबाइलको बत्ती प्रयोग गर्दै सवारी जाँच गर्ने गरिएको देखिन्छ। यसरी गोप्य शैलीमा चेकजाँच गर्नुको उद्देश्यसमेत शंकास्पद रहेको स्थानीयको दाबी छ।
स्थानीय स्रोतले बहुअरी ट्राफिक बिटमा कार्यरत असई चित्रन्जन साहको निर्देशनमा प्रहरी सहायक हवल्दार देवीलाल साहले रकम उठाउने गरेका छन्।
‘आईसीपीबाट गाडी घट्नुको कारण ट्राफिक असुली?’
वीरगञ्जको आईसीपी नेपाल–भारत व्यापारको महत्वपूर्ण प्रवेशद्वार हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारतसहित तेस्रो मुलुकबाट विभिन्न वस्तु आयात–निर्यात हुने गर्छ।
स्थानीय तथा व्यवसायिक क्षेत्रका केही व्यक्तिहरूले भने ट्राफिक प्रहरीको अनावश्यक रोकतोक र रकम असुलीका कारण भारतीय नम्बरका मालवाहक गाडी वीरगञ्ज नाकाबाट आउन हिच्किचाउने गरेको दाबी गरेका छन्।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले त्यस्तो गलत गतिविधि भएको प्रमाणित भए संलग्न जोकोहीलाई विभागीय कारबाही गरिने बताएको छ।
प्रहरीले रकम असुली नगरेको दाबी गरे पनि चालक तथा स्थानीयबाट लगातार यस्ता गुनासो आउन थालेपछि सम्बन्धित निकायले बहुअरी ट्राफिक बिटको गतिविधि, सीसीटीभी फुटेज, ड्युटी विवरण र सवारी जाँचको अभिलेख जाँच गर्नुपर्ने देखिन्छ।
अब प्रश्न एउटै छ- ओभरलोड नियन्त्रणका नाममा कारबाही गर्ने अधिकार पाएको ट्राफिक प्रहरीकै नाममा उठिरहेको भनिएको यो रकम कहाँ जान्छ ?
