पोखरा । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत पोखरा–१४ समावेशी टोलका ४७ वर्षीय गोविन्दबहादुर अधिकारी यसपटक तीजमा घर आउने तयारीमा थिए।
दिदीबहिनीहरूसँग बसेर तीज मनाउने र उनीहरूका लागि आफूले किनेका नयाँ कपडा उपहार दिने उनको योजना थियो। भदौ ९ गते साँझ परिवारसँग भिडियो कलमा कुरा गर्दा उनले आफूले किनेका कपडा देखाउँदै दिदीबहिनीलाई सोधेका थिए, ‘यो रङ कस्तो छ?’
त्यो कुराकानी नै परिवारसँग उनको अन्तिम संवाद बन्न पुग्यो।
भदौ १० गते रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अधिकारी सम्पर्कविहीन भए। त्यसयता उनको अवस्था अज्ञात छ।
बाढी आउनुअघि उनी अन्य सहकर्मीसँगै कार्यालयको काममा व्यस्त रहेको घटनाबाट जोगिएर फर्किएका सहकर्मीहरूले परिवारलाई बताएका छन्। अधिकारी करिब छ महिनाअघि पोखरा विमानस्थल भन्सार कार्यालयबाट टिमुरे सरुवा भएर गएका थिए।
बाढी आएको दिन बिहानसम्म उनी परिवारको सम्पर्कमा थिए। त्यसपछि मोबाइलमा सम्पर्क हुन छाड्यो। परिवारले पटक–पटक फोन गर्यो, विभिन्न स्थानमा खोजी गर्यो। अस्पतालदेखि शव राखिएका स्थानसम्म पुगेर समेत उनको अवस्था बुझ्ने प्रयास गरियो।
धादिङमा फेला परेको शवको तस्बिर अधिकारीसँग मिल्दोजुल्दो देखिएपछि परिवार पहिचानका लागि त्यहाँसम्म पुग्यो। तर हातमा रहेको ट्याटुका आधारमा उक्त शव गोविन्दको नभएको पुष्टि भयो।
लामो समयसम्म कुनै खबर नआएपछि परिवारले अन्ततः उनको सकुशल फर्किने आशा त्यागेको छ। बिहीबार घटनास्थल पुगेर फर्किएपछि परिवारले शुक्रबार हिन्दु संस्कारअनुसार कुशको शव बनाएर पोखरास्थित रामघाटमा सेती नदी किनारमा अन्त्येष्टि गरेको छ।
गोविन्दका छोरा विनय अधिकारीले बुबा सकुशल फर्किने आशामा लामो समय पर्खिए पनि अब त्यो आशा गर्ने अवस्था नरहेको बताए।
‘बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ। तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर त्यहाँको अवस्था देखेपछि अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन,’ उनले भने।
गोविन्दका छिमेकी तथा मिल्ने साथी नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालका अनुसार उनी सहयोगी, मिलनसार र सामाजिक स्वभावका व्यक्ति थिए। उनी बेपत्ता भएदेखि समावेशी टोल नै शोकमा डुबेको छ।
‘टाढा रहे पनि उहाँलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो। कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो। साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,’ बरालले भने।
सामाजिक काममा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि उत्तिकै रुचि राख्थे। उनी समावेशी टोलका सहसचिवसमेत थिए। टोलका समस्या समाधान र विकासका काममा उनको सक्रिय भूमिका थियो।
उनको विशेष परिचय थियो—मुरलीको मधुर धुन।
साथीभाइ जम्मा हुँदा मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उनको बानी अहिले टोलवासीका लागि सम्झना बनेको छ।
छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउँदैनथे।
‘उहाँ घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ। अर्को मुरली उहाँको सम्झनाका लागि घरमै राखेका छौँ,’ पाण्डेले भने।
तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४ समावेशी टोलमा बस्दै आएको छ। उनकी आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी छन्।
भदौ १० गते रसुवामा आएको बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार सम्पर्कविहीनमध्ये तीन जना पछि परिवारको सम्पर्कमा आएका छन्। बाँकीको अवस्था अझै अज्ञात छ।
तीजमा दिदीबहिनीका लागि किनेका ती नयाँ कपडा घरमै छन्। तर, ती कपडा उपहार दिने गोविन्द भने अब कहिल्यै घर फर्कने छैनन्।
