- उमेश अवस्थी आदर्श
बगैँचामा बन्दुकका नालहरू तेर्स्याएर
कलिला कोपिलाका छातीमा
वर्षाएर फलामी गोलीहरू
रक्तपातको आधुनिक सागरमा
पौडिरहेथे समाजका विवेकहरू
टुट्नेहरूको भरोसा टुटिसकेको थियो देशबाट
आशाहरू शहीद भइसकेका थिए
गोलीको तीखो प्रहारबाट
डराएर रोइरहेका थिए रूखहरू
बन्दुकको आवाज सुनेर
क्षितिजतिर भाग्दै थियो सूर्य
हताहत भएका बच्चाका आत्माहरू आएर
घिरिरहेथे मलाई
दिउँसै निस्पट्ट अँधेरो छाएको थियो मन्दिर वरिपरि
हेर्दा जीवित र वास्तवमा मरिसकेको समाजमा
कुनै मोल हुँदो रहेनछ करूणाको
निमेषभसमा सडकमा गिदी फिजारिएका
बच्चाका आत्माको आवेग
खोजिरहेथ्यो लाखौको अकाल मृत्यु
सल्किसकेको आगोको ज्वाला निभाउन
अञ्जुलीभरि पानी लिएर आइपुगे दानबहादुर
टार्गेटलाई तोकेर तेर्स्याएको
बन्दुकको ट्रेगर छड्काउनुभन्दा पहिला
छड्काइदिए उनले विवेकको ट्रेगर
हातको बन्दुकलाई फालेर
भूइँको मानवीयता टिप्न खोज्दाखोज्दै
दुश्मनको आगोले जलाइदियो उनैको घर
घरसँगै शरीरमा सल्किएको आगो बोकेर
भौतारिरहे चारैतिर
अग्लो पर्खालजस्तो भिडले
निभाउने प्रयत्न गरेन उनका शरीरको आगो
बरु वर्षाइरह्यो ढुङ्गाको वर्षा
चिथोरिएको मुहार र
नीलडाम परेको नाङ्गो शरीर लिएर
बागमतीको किनारै किनार
चारै हातखुट्टाले जीवनको भिख मागिरहे उनीहरू
खरानी भएको बस्तीमा
ढुङ्गा र आगोले डामेको शरीर टेकेर
बिहानैको झिसमिसेमा
सडकैभरि उभिएथे
बुद्धका मूर्तिजस्ता प्रहरीहरू
यहीँ भीडमा नाङ्गा पाउले
फुटेका काँचका भर्याङ टेकिरहेथे दानबहादुर
आँखामा शेफोक्सुण्डो जस्तो गहिरो ताल बोकेर
ओठैभरि हिमालका दन्तलहरी चपाउँदै
जीवनको धरहराबाट हाम फालेका
अर्का दानबहादुर
दुश्मनको लाठीले टाउँको फुटेसँगै
जीवन र मृत्युका दोसाधमा
मागिरहेथे एकघुट पानी
राम हेरिरहेको मधेशको जंगलजस्तो भिडले
बजारीरह्यो लाठी
अन्ततः आफ्नै टाउँकाबाट
तरर बगिरहेको रगतको घुट्को पिएर
उनले अन्तिम सास फेरे जीवनको
नारायण गोपालको शान्त मूर्तिका छेउमा
खण्डहर बनेको रानीपोखरीबाट
टक्टकाएर खरानीको भारी
ओहोरदोहोर गरिरहे पशुपतिनाथ र स्वयम्भूलाई
महाभारतका एक महारथी
शान्तिप्रेमी युधिष्ठिरको मार्गलाई
पछ्याउँदै पछ्याउँदै
काँडै काँडाले भरिएका बाटाहरू हिँड्दै
कमलपोखरी छेउछाउ पुग्नेछन् दानबहादुर
वर्षौ अगाडि नै फूल र पानी सुकेर
लेऊ मात्र बाँकी रहेको कमल पोखरीमा
कस्तो फूल फुलाउलान् दानबहादुर कार्कीले…।
