काठमाडौं । भन्सार छली तथा अवैध रूपमा भित्रिने मोबाइल नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरीकै हो। तर, एक मोबाइल व्यवसायीले आफूले नेपाल प्रहरीका उच्च अधिकारीदेखि सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीसम्म मोबाइल बिक्री गर्दै आएको स्वीकार गरेपछि सुरक्षा निकायभित्र हुने मोबाइल कारोबारबारे गम्भीर प्रश्न उठेको छ।
न्युरोडस्थित पशुपति प्लाजामा मोबाइल व्यवसाय सञ्चालन गर्दै आएका बलराम साहले संवाददातासँगको कुराकानीमा आफूले पत्रकारदेखि नेपाल प्रहरीका उच्च अधिकारीसम्म मोबाइल बिक्री गर्ने गरेको स्वीकार गरे। उनले सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीहरूलाई समेत मोबाइल बिक्री गर्ने गरेको बताए। उक्त कुराकानीको अडियो संवाददातासँग सुरक्षित छ।
यद्यपि, आफूले चोरी वा अवैध रूपमा भित्रिएका मोबाइल बिक्री गरेको आरोप भने साहले अस्वीकार गरे। ‘अहिले केही नलेखिदिनुस्, पछि भेटेर कुरा गरौँ,’ भन्दै उनले आफूले विदेशबाट फर्किने साथीभाइमार्फत ल्याइएका मोबाइलहरू सस्तो मूल्यमा बिक्री गर्ने गरेको दाबी गरे। उनले आफूले कहिल्यै चोरीको सामान नबेच्ने जिकिर गरेका छन्।
संवाददाताले ग्राहक बनेर सम्पर्क गर्दा साहकै सहयोगी बनेर काम गर्ने एक महिलाले बक्स खोलिएको iPhone 17 Pro Max दुई लाख रुपैयाँमा र बक्स नखोलिएको सेट दुई लाख १२ हजार रुपैयाँमा उपलब्ध हुने जानकारी दिइन्। कर वा भन्सार प्रक्रियाबारे आफूलाई जानकारी नभएको उनले बताइन्। तर, प्रहरीका हाकिमहरूलाई मोबाइल भने बलराम साहले नै बिक्री गर्ने गरेको उनले पनि स्वीकार गरिन्।
मोबाइल खरिद गरेका एक ग्राहकका अनुसार बजारमा करिब दुई लाख ६० हजार रुपैयाँ पर्ने मोबाइल आफूले साहबाट एक लाख ६५ हजार रुपैयाँमा खरिद गरेका थिए। उनले मोबाइलसँग बक्स नदिइएको समेत बताए। अत्यधिक मूल्य अन्तर र बक्स नदिने अभ्यासले मोबाइलको वैधानिक स्रोतबारे प्रश्न उठाएको ती ग्राहकको भनाइ छ।
स्रोतकाअनुसार साह प्रहरी संगठनभित्र आफूलाई राम्रो पहुँच भएको दाबी गर्दै हिँड्ने गरेका छन्। सामाजिक सञ्जालमा उनले विभिन्न प्रहरी अधिकारीहरूसँग खिचिएका तस्वीरहरू समेत सार्वजनिक गर्ने गरेका छन्। यद्यपि, तस्वीर वा चिनजान मात्रले कुनै अनियमितता पुष्टि गर्दैन।
केही स्रोतहरूले साहले प्रहरी अधिकारीहरूको नाम उल्लेख गर्दै आफूलाई उनीहरूसँग नियमित सम्पर्क हुने र मोबाइल कारोबार गर्ने बताउने गरेको दाबी गरेका छन्।
साहले काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिसामु कुरा गर्ने गरेको आरोप छ। केही स्रोतका अनुसार उनले ‘दिलिप दाइसँग दिनमै दुई–तीन पटक फोनमा कुरा हुन्छ’ भन्दै प्रभाव देखाउने गरेका छन्।
यस्तै, उनी काठमाडौंका पूर्व प्रहरी प्रमुखहरू रमेश थापा र वसन्त रजौरेको कार्यकालमा पनि उनले मोबाइल गिफ्टस्वरुप दिएका थिए। केही स्रोतहरूले उनले तत्कालिन काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीसँग समेत निकट रहेको भन्दै हिँड्ने गरेको बताएका छन्।
स्रोतकाअनुसार उनले दैनिक करिब ३० वटा मोबाइल बिक्री गर्ने गरेका छन्।
यस्तै, उनी करिब १५ लाख रुपैयाँ मूल्यको मोटरसाइकल चढ्ने गरेका छन् र आफ्नो प्रभावशाली पहुँचबारे सार्वजनिक रूपमा चर्चा गर्ने गरेको बताइन्छ। केही स्रोतले उनले मोबाइल बिक्रीका क्रममा उपहारस्वरूप मोबाइलसमेत दिने गरेको दाबी गरेका छन्।
यसैबीच, केही स्रोतहरूले साहले प्रहरी संगठनभित्र हुने सरुवा–बढुवामा समेत आफ्नो पहुँच रहेको दाबी गर्दै प्रहरी कर्मचारीहरूसँग कुराकानी गर्ने गरेको बताएका छन्। उनले प्रहरी नेतृत्वसँग निकट सम्बन्ध रहेको भन्दै सरुवा मिलाइदिने आश्वासन दिने गरेको आरोप पनि छ।
यदि कुनै व्यवसायीले सुरक्षा निकायका अधिकारीहरूलाई नियमित रूपमा मोबाइल बिक्री गर्ने गरेको स्वीकार गरिरहेका छन् भने ती मोबाइलहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा होइनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। यस्ता अवस्थामा बिल, भन्सार कागजात तथा कर तिरेको प्रमाणले नै मोबाइलको वैधानिकता पुष्टि गर्न सक्छ।
यस विषयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा सम्बन्धित राजस्व निकायले आवश्यक छानबिन गरी वास्तविकता सार्वजनिक गर्नु आवश्यक देखिन्छ। यदि मोबाइलहरू कानुनी प्रक्रियाअनुसार आयात गरिएका हुन् भने त्यसबारे स्पष्ट जानकारी आउनुपर्छ।
यदि कुनै अनियमितता भएको पुष्टि हुन्छ भने कानुनअनुसार कारबाही हुनुपर्नेछ।
