काठमाडौं । अभिनेत्री केकी अधिकारीले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत तीखा टिप्पणी गरेकी छन्।
उनले सरकारको ध्यान प्रचारमुखी गतिविधिभन्दा रोजगारी सिर्जना र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कामतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेकी हुन्।
फेसबुकमा उनले लेखेकी छन्, “स्टन्टले देश बन्दैन। हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो? कतिले रोजगारी पाए? अब जनताले सोध्ने दिन आए। खै, रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौं बरु। त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला। जनताको निराशा पनि पक्कै हटेर जाला। यो सस्तो स्टन्टले देश बन्दैन।”
केकीको यो अभिव्यक्ति पछिल्लो समय सरकारको कामकारबाहीप्रति विभिन्न क्षेत्रबाट उठिरहेका आलोचनाकै बीच आएको हो। उनको पोस्ट सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर हुँदै सरकारको कार्यशैली र रोजगारी सिर्जनाबारे बहससमेत सुरु भएको छ।
