काठमाडौं । कैलालीको धनगढीबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी घर भई धनगढी उपमहानगरपालिका–५ सत्कार चोकमा डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खान रहेका छन्।
मंगलबार राति वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले शंकास्पद गतिविधिका आधारमा खानको डेरा कोठामा खानतलासी गरेको थियो। तलासीका क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खानको कोठाबाट एक थान खुकुरी, एक थान फलामको रड, एक थान रेन्च, एक थान डिजिटल काटा, दुई थान चाँदीजस्तो देखिने माला, एक थान फलामको ‘टी’ तथा दुई थान टर्चलाइट समेत फेला परेका छन्।
वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेको नेतृत्वमा खटिएको टोलीले उक्त सामग्री बरामद गर्दै खानलाई नियन्त्रणमा लिएको हो।
बरामद हतियार तथा अन्य सामग्रीको प्रयोग र उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खानलाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
