धनगढी । कैलालीमा एक १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय प्रदीप चन्दसहित १६ र १७ वर्ष उमेरका दुई किशोर रहेका छन्। उनीहरूलाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार गत जेठ २१ गते राति युवतीमाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। उजुरी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आरोपितहरूलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले आरोपितहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार अदालतबाट सात दिनको म्याद थप गरी तीनै जनामाथि थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण सम्पन्न गरी आफन्तको जिम्मा लगाएको जनाएको छ। पक्राउ परेकामध्ये एक जना युवतीसँग प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
