काठमाडौं । मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमविपरीत ठूलो संख्यामा बिदामा पठाएर राशन व्यवस्थापनमा अनियमितता गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बल नेपालले सल्यान र जाजरकोटस्थित गुल्मका कमान्डरहरूलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ।
स्रोतका अनुसार ती दुवै जिल्लाका गुल्मपति (डीएसपी) विरुद्ध अत्यधिक संख्यामा कर्मचारीलाई बिदामा पठाई राशनमा अनियमितता गरेको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष छानबिन टोली खटाएको थियो।
छानबिन टोलीले स्थलगत अनुसन्धानपछि बुझाएको प्रतिवेदनमा दुवै कमान्डरको कमजोरी पुष्टि भएको जनाइएको छ। त्यसपछि उनीहरूलाई कमान्डबाट फिर्ता बोलाएर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कानुन निर्देशनालयमा हाजिर गराइएको छ।
सशस्त्र मुख्यालय स्रोतका अनुसार उनीहरूमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइसकिएको छ भने रिक्त हुन पुगेका सल्यान र जाजरकोट गुल्ममा नयाँ कमान्डर खटाउने तयारी भइरहेको छ।
यसैबीच, मुस्ताङको कोरला नाकाबाट भएको अवैध तस्करी प्रकरणमा पनि सशस्त्र प्रहरीको भूमिका माथि छानबिन सुरु गरिएको छ।
केही दिनअघि कोरला नाका हुँदै गैरकानुनी रूपमा दुई ट्रक ‘भेपर’ (इलेक्ट्रोनिक चुरोट) नेपाल भित्रिएको घटनामा सुरक्षा कमजोरी देखिएको भन्दै बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका तत्कालीन कमान्डर तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि अनुसन्धान थालिएको हो।
प्रारम्भिक अनुसन्धानमा नाकामा खटिएको सुरक्षा संयन्त्रको लापरबाहीका कारण अवैध सामान भित्रिएको देखिएको भन्दै सम्बन्धित अधिकृतमाथि पनि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हाल दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको र प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने बताइएको छ।
