काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ वटा स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन्। उनले ती चौकीहरूको पुनर्निर्माणका लागि पर्याप्त बजेट नहुँदा प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य भएको बताएका हुन्।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका धेरै प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गरे।
उनका अनुसार हाल देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण भइसकेका छन् भने अस्थायी प्रहरी चौकीहरूको अवस्थाबारे समेत यकिन तथ्यांक उपलब्ध छैन।
‘सीमावर्ती र संवेदनशील क्षेत्रमा रहेका कतिपय चौकीहरू भत्किने अवस्थामा छन्। प्रहरी कर्मचारीहरू जोखिमपूर्ण भवनमा बसेर सेवा दिन बाध्य छन्,’ कार्कीले भने, ‘स्थानीय तह र संघीय मामिला मन्त्रालयको समन्वयमा यस्ता चौकीहरूको पुनर्निर्माण हुन सके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्यूनतम मानवीय सुविधा सहित बस्न पाउने अवस्था सिर्जना हुन्छ।’
आईजीपी कार्कीले अस्थायी प्रहरी चौकीहरू आवश्यकता र संवेदनशीलताको आधारमा स्थापना गरिए पनि दीर्घकालीन समाधानका लागि स्थायी संरचना आवश्यक रहेको बताए। उनका अनुसार प्रहरीको उपस्थितिले राज्यको उपस्थितिको अनुभूति गराउने भए पनि आवश्यक भौतिक पूर्वाधारको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ।
उनले अस्थायी चौकीहरूलाई व्यवस्थित गर्न भवन निर्माणदेखि आवश्यक लजिस्टिक व्यवस्थापनसम्मका लागि पर्याप्त बजेट आवश्यक पर्ने उल्लेख गर्दै सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ।
