काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक व्यक्तिको मृत्यु प्रकरणमा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालसहित सम्बन्धित प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सिफारिस गरिएको छ।
गत भदौमा ज्यान मार्ने मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको हिरासतमा राखिएको तीन दिनमै मृत्यु भएको थियो। हिरासतमा रहँदा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
सिंहका परिवारले प्रहरी हिरासतमा राख्दा भएको यातना र लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए। तर घटनालगत्तै विस्तृत छानबिन हुन सकेको थिएन।
पछि लुम्बिनी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी सन्तोष राठौरको नेतृत्वमा गठित चार सदस्यीय समितिले घटनाबारे अनुसन्धान गरेको थियो। समितिले हिरासत व्यवस्थापन तथा बन्दीको स्वास्थ्य अवस्थाप्रति आवश्यक सतर्कता अपनाउन नसकिएको निष्कर्ष निकालेको स्रोतले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार छानबिनका क्रममा प्रहरीको कमजोरी देखिएपछि तत्कालीन कार्यालय प्रमुख डीएसपी खनालसहित हिरासत कक्षमा जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको हो।
घटनासम्बन्धी अन्तिम निर्णय भने प्रहरी प्रधान कार्यालयले विभागीय प्रक्रियाअनुसार गर्ने बताइएको छ।
सिंहकै मृत्युले विवादमा मुछिएपछि गत असोजमै डीएसपी खनाललाई कोहलपुरबाट तानिएको थियो । खनाललाई त्यहाँबाट अपराध अनुसन्धान विद्यालय, प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज, काठमाडौंमा सरुवा गरिएको थियो ।
