काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन्।
रास्वपाले आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको हो। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा सभापतिसहित दुई–दुई जनालाई आमन्त्रण गरिएको छ।
यद्यपि, कांग्रेसबाट भने सभापति थापा बैठकमा सहभागी नहुने जनाइएको छ। कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद फिरदोस आलम सहभागी हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ। रास्वपाले सर्वदलीय बैठकको सूचना र औपचारिक निमन्त्रणा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाएको जनाएको छ।
समसामयिक राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको रास्वपाले जनाएको छ।
