काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङमाथि विद्यालयको खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत बैंक खातामा राखेर ब्याज खाएको आरोप लागेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ।
स्रोतका अनुसार गुरुङले विद्यालयमा उठ्ने स्टेशनरी तथा शैक्षिक शुल्कबापतको रकम विद्यालयको खातामा जम्मा गर्नुको सट्टा आफ्नो व्यक्तिगत खातामा राख्दै आएको भन्दै उजुरी परेको छ। उजुरीमा चार वर्षको अवधिमा करिब साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखिएको दाबी गरिएको छ।
उजुरी परेपछि सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले गुरुङसँग सोधपुछसमेत गरेको स्रोतले जनाएको छ। यद्यपि आरोपबारे आधिकारिक निष्कर्ष भने सार्वजनिक गरिएको छैन।
ओखलढुंगाकी गुरुङ विगत साढे ६ वर्षदेखि एपीएफ स्कुलमा लेखा अधिकृतको जिम्मेवारीमा कार्यरत छिन्। सशस्त्र प्रहरीभित्र वित्तीय अनियमितता रोक्न लेखा अधिकृतको नियमित सरुवा गर्ने अभ्यास रहे पनि उनी लामो समयदेखि एउटै कार्यालयमा रहनुले प्रश्न उठेको छ। सई हुँदा विद्यालयको लेखा सम्हाल्न थालेकी गुरुङ अहिले निरीक्षकमा बढुवा भइसकेकी छन्, तर जिम्मेवारी भने उही कायम छ।
विद्यालयका कमाण्डेन्ट एसपी रामजङ्ग पाण्डेले भने विद्यालयका सबै आर्थिक कारोबार विद्यालयकै खाताबाट हुने बताए। उनले गुरुङ विद्यालयमा कार्यरत रहेको पुष्टि गर्दै विद्यालयको रकम व्यक्तिगत खातामा राखिएको विषयमा आफूलाई जानकारी नभएको संकेत गरेका छन्।
यसअघि पनि एपीएफ स्कुलमा राशन तथा कल्याणकारी कोषसँग सम्बन्धित आर्थिक अनियमितताको उजुरी परेको थियो। त्यसबेला कानुन निर्देशनालयले लेखा अधिकृत गुरुङसहित सम्बन्धित व्यक्तिहरूसँग बयान लिए पनि कुनै कारबाही भएको थिएन।
सशस्त्र प्रहरीका लेखा उपसमूहका अधिकृतहरू समेत एउटै व्यक्तिलाई वर्षौंसम्म एउटै कार्यालयमा राखिएको विषयलाई अस्वाभाविक मानिरहेका छन्। उनीहरूका अनुसार अधिकांश लेखा अधिकृतले छोटो अवधिमै सरुवा भोग्नुपर्ने अवस्था रहँदा गुरुङको लामो बसाइले संगठनभित्रै प्रश्न खडा गरेको छ।
हाल प्रधान कार्यालयले उजुरीमाथि छानबिन अघि बढाएको छ। छानबिनबाट आरोप पुष्टि भए आर्थिक अनुशासन र वित्तीय पारदर्शितामाथि गम्भीर प्रश्न उठ्ने देखिएको छ।
