गोरखा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफू पुनः गृहमन्त्री बन्न सक्ने संकेत गरेका छन्। गोरखामा आयोजित रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूविरुद्ध उठेका आरोपबारे भइरहेको छानबिनबाट सफाइ पाए सरकारमा फर्किन सक्ने बताएका हुन्।
सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि र विचौलिया दीपक भट्टसँगको सम्बन्धबारे आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गृहमन्त्री नियुक्त नगरेको भए पनि उनीमाथिको छानबिनका लागि समिति गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेको छ।
अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेपछि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने जिम्मेवारी आफूले बुझेको भन्दै छानबिन प्रक्रियामा पूर्ण सहयोग गरेको बताए। उनले समितिसमक्ष बयान दिने क्रममा सम्पत्तिको स्रोतबारे समेत प्रश्न उठाइएको उल्लेख गरे।
उनका अनुसार छानबिन समितिले सम्पत्तिको स्रोतबारे सोध्दा आफूले पनि सहज रूपमा प्रतिप्रश्न गर्दै सबैको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राखेका थिए।
आफूमाथि लगाइएका आरोपबाट पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गर्दै गुरुङले पुनः गृहमन्त्री बन्ने सम्भावनातर्फ संकेत गरे। उनले भने, ‘यदि मैले क्लिन चिट पाएर फेरि गृहमन्त्री बन्ने अवसर पाएँ भने मन्त्रालयमा बधाई दिन र फोटो खिच्नका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।’
कार्यक्रममा उनले रास्वपाको संगठन विस्तारबारे पनि धारणा राख्दै अब निर्वाचित हुने जिल्ला नेतृत्व राजधानी केन्द्रित नभई जिल्लामै सक्रिय हुनुपर्ने बताए। चुनावका बेला मात्र जिल्लामा पुग्ने प्रवृत्तिले पार्टीलाई दीर्घकालीन फाइदा नपुग्ने उनको भनाइ थियो।
गुरुङ प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट २९ हजार ८९६ मत प्राप्त गर्दै निर्वाचित भएका थिए।
