दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ), प्रहरी र सरकारी वकिलबीच मिलेमतो भए जो-कसैलाई पनि अपराधी वा निर्दोष बनाउन सकिने दाबी गरेका छन्।
दाङको घोराहीमा जारी रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै चौधरीले राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। उनले प्रहरी, सिडिओ कार्यालयको मुद्दा शाखा र सरकारी वकिल कार्यालय एक ठाउँमा उभिए कुनै पनि व्यक्तिलाई अपराधी बनाउने वा अपराधीलाई समेत निर्दोष साबित गर्ने अवस्था रहेको आरोप लगाए।
उनले पार्टी सभापति रवि लामिछानेले पनि विगतदेखि नै राज्य संयन्त्रको चरित्र बदल्नुपर्ने विषय उठाउँदै आएको उल्लेख गरे। राज्य नागरिकमै अन्तर्निहित हुने भन्दै नागरिकको चाहनाअनुसार राज्य सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।
चौधरीले वर्तमान राजनीतिक संस्कारमाथि पनि आलोचना गर्दै पुराना दलहरूमा देखिने गुटबन्दी, प्रतिनिधि किनबेच तथा पैसाको प्रभाव रास्वपाभित्र स्वीकार्य नहुने बताए। कांग्रेस, एमाले र माओवादी केन्द्रमा जस्तो प्रतिनिधिलाई प्रभावित पार्ने अभ्यास आफ्नो पार्टीमा दोहोरिन नहुने उनको भनाइ थियो।
रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका चौधरीले कार्यकर्तालाई निष्ठा, इमान्दारिता र नैतिक बल कायम राख्न आग्रह गर्दै राज्य संरचनामा सुधार आवश्यक रहेको धारणा राखे।
