सिरहा । एसईई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरिएको विषयलाई लिएर सिरहामा विवाद चर्किएको छ। प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन्।
संयुक्त विद्यार्थी संगठनले सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाअगाडि प्रदर्शन गर्ने जनाएको छ। संगठनले सम्पूर्ण विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरेको छ।
‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नारासहित हुने प्रदर्शनमार्फत जफत गरिएका मोबाइल तथा स्मार्ट घडी नष्ट गर्नुको सट्टा कानुनी प्रक्रिया अपनाउनुपर्ने र सम्बन्धित विद्यार्थीलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई तथा कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडी नष्ट गरेको थियो। प्रशासनका अनुसार सात वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट घडी बरामद भएका थिए।
बरामद गरिएका उपकरणको अनुमानित मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय समितिले ती सामग्री नष्ट गरेको हो।
समितिले मोबाइल तथा स्मार्ट घडीलाई २४ घण्टासम्म पानीमा डुबाएर पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुर्याएपछि अन्तिम रूपमा नष्ट गरिएको जनाएको छ।
