काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च अधिकारीलाई ज्यान मार्ने धम्की दिएको घटनाको अनुसन्धानमा गम्भीर प्रश्न उठेको छ ।
सामान्यतया जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्नुपर्ने ज्यान, संगठित अपराध र आपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा अख्तियारमा कार्यरत प्रहरी अधिकृतहरू नै प्रत्यक्ष रूपमा संलग्न भएको तथ्य खुलेपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको हो ।
जबकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार कारबाही किनारा लगाउनुपर्ने विषयमा मात्रै अनुसन्धान गर्छ । तर अख्तियारमा कार्यरत प्रहरीले प्रमुख अभियुक्त प्रकाश पाठकसँग केरकार र बयान लिएको पाइएको हो ।
प्राप्त बयान तथा अनुसन्धानसम्बन्धी कागजातअनुसार प्रमुख अभियुक्त पाठकसँग बयान लिने, केरकार गर्ने तथा अनुसन्धानसम्बन्धी कागजात तयार गर्ने काममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकारीहरू सक्रिय देखिएका छन् । स्रोतका अनुसार अख्तियारमा कार्यरत डीआईजी शेखर खनालको निर्देशनमा एसपी मोहन थापासहितको टोली अनुसन्धान प्रक्रियामा संलग्न भएको थियो ।
सबैभन्दा गम्भीर विषय भनेको जाहेरीकर्ता र अनुसन्धानकर्ताबीचको सम्बन्ध हो । प्रमुख आयुक्त राईलाई ज्यान मार्ने धम्की दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै लिखित जाहेरी दिएको थियो । तर, सोही संस्थामा कार्यरत प्रहरी अधिकारीहरू नै अनुसन्धान र बयान प्रक्रियामा समेत जोडिएको देखिएको छ । कानुनी वृत्तमा यसलाई स्वार्थ बाझिने (Conflict of Interest) अवस्थाका रूपमा हेरिएको छ ।
अदालतमा बयानका क्रममा उनले आफूले बयान नै नपढी हस्ताक्षर गरेको र सहिछाप गरेको बयान दिएका छन् । ‘मैले उक्त ब्यहोरा नपढी सहिछाप गरेको हो । अख्तियारको प्रहरी समेत सोही ठाउँमा रहेकाले करकापमा परी मैले उक्त बयान व्यहोरामा सहीछाप गरेको हो,’ पाठकले अदालतको बयानमा भनेका छन् ।
हेर्नुहोस् पाठकको बयानको प्रतिलिपि

प्रहरी अनुसन्धानको मूल जिम्मेवारी काठमाडौं प्रहरीको भए पनि अनुसन्धानको महत्वपूर्ण चरणमा अख्तियारमा खटिएका प्रहरी अधिकारीहरूको सक्रिय उपस्थिति देखिनु अर्को प्रश्नको विषय बनेको छ ।
कानुनतः अख्तियारमा खटिएका प्रहरी कर्मचारीको प्राथमिक जिम्मेवारी भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धान तथा अभियोजनमा सहयोग पुर्याउने हो । तर, ज्यानसम्बन्धी धम्की, संगठित अपराध, आपराधिक षड्यन्त्र र विद्युतीय कारोबारसम्बन्धी कसुरमा उनीहरूको प्रत्यक्ष संलग्नता कसरी र कुन कानुनी आधारमा भयो भन्ने प्रश्न उठेको छ ।
यस घटनामा तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाको भूमिकामाथि समेत प्रश्न उठेको छ । अनुसन्धानको सम्पूर्ण जिम्मेवारी काठमाडौं प्रहरीको भए पनि अख्तियारमा कार्यरत प्रहरीलाई अनुसन्धान प्रक्रियामा प्रवेश गराउन कसले अनुमति दियो भन्ने विषय अझै स्पष्ट भएको छैन ।
अख्तियारका प्रहरी अधिकारीहरूले बयान प्रक्रियामा प्रभाव पारेको आरोप स्वयं मुख्य अभियुक्तको अदालतसमक्षको बयानमा उल्लेख भएपछि अनुसन्धानको निष्पक्षतामाथि थप प्रश्न उठेको छ । यदि अदालतमा दिइएको बयान सत्य हो भने अनुसन्धान प्रक्रिया नै विवादमा पर्ने अवस्था देखिएको छ ।
नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले २०८२ पुस १९ गते मालोलोस सहरबाट पक्राउ गरेको थियो ।
