काठमाडौं । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले प्राविधिकको पैसा तिरेका छन् । उनीहरुले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर १२ लाख तिरेका हुन् ।
२०८१ भदौमा प्रदर्शनमा आएको यो फिल्ममा ‘रावायण’ काम गरेका प्राविधिकको १७ लाख ११ हजार तिनुपर्नेमा उनीहरुले १२ लाख तिरेका हुन् । फिल्मका तर्फबाट निर्देशक सुदर्शन थापाले ४ लाख र अभिनेत्री पूजा शर्माले ८ लाख तिरेका हुन् । फिल्म डुबेकोले बाँकी रकम तिर्न नसक्ने भन्दै उनीहरुले त्यतिमात्र तिरेका हुन् ।
प्राविधिकका तर्फबाट चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले उक्त रकमका लागि थापा र शर्मासँग पटक पटक ताकेता समेत गरेका थिए । तर उनीहरुले पैसा दिन लामो समय आलटाल गरेपछि संघ जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको थियो । प्रशासनले उक्त पैसाको ताकेताका लागि प्रहरीमा पत्र लखेपछि उनीहरूलाई प्रहरीले बोलाएको थियो । थापा र शर्माले प्रहरीको रोबरमा पैसा तिरेका हुन् ।
‘हाम्रा पैसा नतिर्ने निर्माता निर्देशकलाई प्राविधिक केही होइन, उनीहरुको पैसा तिर्नुपर्दैन भन्ने भ्रम रहेको छ’, संघका अध्यक्ष लामाले भने ‘श्रमिक आवाज संसारमै सबैभन्दा बुलद्ध आवाज मानिन्छ ।’ लामाले अन्य धेरै निर्माता निर्देशकसम्म प्राविधिकको पैसा लिन बाँकी रहेको सुनाए । ‘सबै सँग एक एक गरेर उठाउने कोसिसमा छौ’ लामाले थपे ।
लामाले को–को निर्माता निर्देशकसँग प्राविधिकको कति उठाउन बाँकी रहेको त्यो भने खुलाउन चाहेनन् । समयमा पैसा नतिरे सबैको पर्दा खोल्ने लामाले बताए ।
