काठमाडौं । भारतसँग सीमा जोडिएको पर्सा जिल्ला पछिल्लो समय तस्करी, अवैध कारोबार र ‘घुमुवा नेटवर्क’को केन्द्र बन्दै गएको आरोप बढ्दो छ। सीमावर्ती क्षेत्रमा खुलेआम हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्ने प्रहरी नै सेटिङ र असुलीको खेलमा संलग्न रहेको आरोप स्थानीयदेखि सुरक्षा वृत्तसम्म चर्चाको विषय बनेको छ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम सुवेदीमाथि पनि यस्तै आरोप लागिरहेको छ। बाहिरबाट शान्त र इमान्दार छवि बनाएका सुवेदीले भित्री रूपमा तस्करी लाइन व्यवस्थापन गरेर रकम उठाउने संरचना चलाइरहेको चलाइरहेका छन्।
प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर सुवेदीको ‘विश्वासपात्र’का रूपमा प्रहरी हवल्दार विवेक सिंह सक्रिय छन्। सीमावर्ती क्षेत्रमा तस्करसँग सेटिङ मिलाउने, रकम संकलन गर्ने र विभिन्न नाकाबाट लाइन सञ्चालन गराउने जिम्मेवारी सिंहले सम्हाल्दै आएको आरोप छ।
विवेक सिंहको नाम यसअघि पनि पटक-पटक विवादमा आएको थियो। उनीमाथि समाचार तथा प्रमाणसहित भिडियो सार्वजनिक हुँदा समेत कारवाही हुन नसक्नुले प्रहरी संगठनभित्रै शक्तिशाली संरक्षण रहेको आशंका बढाएको छ।
साढे तीन वर्षदेखि एउटै क्षेत्रमा ‘दबदबा’
सामान्यतया प्रहरी कार्यालय प्रमुखहरू वर्षदिनमै फेरिने गरे पनि विवेक सिंह भने विगत साढे तीन वर्षदेखि वीरगञ्जकै विभिन्न क्षेत्रमा ‘घुमुवा’को भूमिकामा सक्रिय रहेको बताइन्छ। यसअघि उनीसँगै सञ्जय कुसवाहा पनि घुमुवा रूपमा परिचालित थिए। तर, कुसवाहा विभिन्न कार्यालय हुँदै अन्यत्र सरुवा भए पनि सिंह भने अहिलेसम्म त्यही नेटवर्कमा कायम छन्।
स्थानीय स्रोतहरूका अनुसार वीरगञ्ज महानगरभित्रका विभिन्न प्रहरी चौकी र पोष्टहरूमा आफ्नो विश्वासको व्यक्ति राखेर तस्करी लाइन सञ्चालन गराउने काम भइरहेको छ। विभिन्न नाकाबाट उठेको रकम चौकी हुँदै माथिल्लो तहसम्म पुग्ने गरेको आरोप समेत छ।
तस्करीको ‘संवेदनशील बेल्ट’
पर्साको नगवा, छपकैया, भकुवा, स्विमिङ पुल क्षेत्र, ग्रीन सिटी, बैसनो माता मन्दिर, इनर्वा, अशोक बाटिकालगायतका क्षेत्र अहिले तस्करीका संवेदनशील नाकाका रूपमा चिनिन्छन्। यी क्षेत्रमा पर्ने प्रहरी चौकीहरूबाट अवैध सामान ओसारपसार सहज रूपमा भइरहेको स्थानीयको दाबी छ।
विशेषगरी भारतीय सीमावर्ती नाकाबाट कपडा, किराना, इलेक्ट्रोनिक्स तथा अन्य सामग्री भित्र्याएर गोदामसम्म पुर्याउने काममा ‘सेटिङ नेटवर्क’ सक्रिय रहेको आरोप लाग्दै आएको छ। स्रोतका अनुसार घुमुवा प्रहरीको मुख्य काम नै विभिन्न सुरक्षा युनिट र तस्करबीच समन्वय मिलाएर अवैध कारोबार निर्वाध बनाउनु रहेको छ।
भारतसँग जोडिएका मधेश प्रदेशका जिल्लामा प्रभावकारी निगरानी र कारवाही कमजोर हुँदा तस्करी मौलाउँदै गएको जानकारहरू बताउँछन्। सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबारले राज्यको राजस्वमा प्रत्यक्ष असर परिरहेको छ। अर्थ मन्त्रालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्नुमा खुला तस्करी पनि एक कारण मानिन्छ।
तर, विडम्बना के छ भने अवैध कारोबार रोक्न खटिएका निकायमाथि नै संरक्षणको आरोप लागिरहँदा सम्बन्धित निकाय भने मौन देखिन्छ। जसका कारण मधेशका सीमावर्ती जिल्लामा प्रहरी संगठनको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ।
