काठमाडौं । तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, उपचार तथा पुनर्स्थापनाका लागि कर्पोरेट नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
आइतबार कर्पोरेट नेपालको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
चेक बुझ्दै अर्थमन्त्री वाग्लेले ‘एक करोडभन्दा कमको फोटो के खिच्नु ?’ भन्दै सहयोग हस्तान्तरणको तस्वीर खिच्न अस्वीकार गरेको कर्पोरेट नेपालले जनाएको छ।
वाग्लेका अनुसार एक करोडभन्दा कम रकमका सहयोगका लागि फोटो खिच्दा सहयोग हस्तान्तरण गर्न आउनेको संख्या धेरै हुन्छ।
यद्यपि, यसअघि विभिन्न व्यवसायिक संस्थाले गरेको २०–२५ लाख रुपैयाँसम्मको सहयोगमा पनि अर्थमन्त्री वाग्लेले तस्वीर खिचाएको सामाजिक सञ्जालमा देखिन्छ।
