बारा । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागूऔषध कारोबार तथा सीमाजन्य अपराधमा संलग्न व्यक्तिहरूमाथि निर्मम रूपमा प्रस्तुत भएर कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा बुधबार बोल्दै आईजीपी कार्कीले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
उनले नवनिर्मित भवनबाट प्रवाह हुने सेवा थप नागरिकमैत्री, प्रविधिमैत्री, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिए ।
आईजीपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसा लगायतका घटनामा प्रभावकारी सेवा प्रवाह गर्न नयाँ भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई प्रशंसापत्रसमेत प्रदान गरेका थिए ।
कार्यक्रमका क्रममा उनले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए ।
कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले धन्यवाद मन्तव्य राखेका थिए ।
यस्तै, UNOPS का अपरेशन कोअर्डिनेटर तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेले स्वागत मन्तव्य दिएका थिए भने सिनियर इन्जिनियर शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
UNOPS को सहयोगमा २ करोड ५१ लाख ४२ हजार ५ सय ३४ रुपैयाँ २८ पैसाको लागतमा उक्त भवन निर्माण गरिएको हो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
