काठमाडौँ । सशस्त्र प्रहरी बलले विभिन्न जिल्लामा कार्यरत तीन जना उपरीक्षक (एसपी)लाई हेडक्वाटर बोलाएर सचेत गराएको छ।
कार्यसम्पादनमा देखिएको कमजोरी र विवादका घटनालाई लिएर उनीहरूलाई भविष्यमा सतर्क रहन कडा निर्देशन दिइएको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार धनुषाका एसपी भीम विष्ट, कपिलवस्तुका एसपी गोपाल अधिकारी र कैलालीका एसपी खुम केसीलाई काठमाडौँ बोलाएर स्पष्टीकरणसहित चेतावनी दिइएको हो।
धनुषामा कार्यरत एसपी विष्ट मातहतका केही कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लागेपछि हेडक्वाटरले चासो दिएको थियो।
त्यस्तै, कैलाली र कपिलवस्तुमा सशस्त्र प्रहरी र स्थानीय समूहबीच विवाद सिर्जना भएको घटनालाई पनि गम्भीर रूपमा लिइएको छ। ती घटनामा कमाण्ड तथा नियन्त्रण प्रभावकारी हुन नसकेको निष्कर्षसहित सम्बन्धित एसपीहरूलाई सचेत गराइएको हो।
हेडक्वाटरले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन स्पष्ट निर्देशन दिएको छ। सुधार नदेखिए कारबाही गर्ने चेतावनीसमेत दिइएको स्रोतले जनाएको छ।
यसका साथै सीमावर्ती क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि सम्बन्धित एसपीहरूलाई निर्देशन दिइएको छ।
कार्यसम्पादनमा तत्काल सुधार नआए पुनः हेडक्वाटर फिर्ता बोलाउने चेतावनीसमेत दिइएको बताइएको छ।
