हरिबोल आचार्य
काठमाडौं । कुमार व्यन्जनकार (कुमार बेन) प्रधानमन्त्रीका प्रमुख सल्लाहकार नियुक्त भएका छन्। उनी सल्लाहकार हुनु पनि त्यस्तै एउटा घटनाको संयोग छ- जसले स्थानीय तहदेखि केन्द्रसम्म फैलिएको राजनीतिक यात्रालाई पुनः स्मरण गराएको छ ।
कुमार व्यन्जनकार कुनै एकाएक उदाएका पात्र होइनन । उनी त्यस्तो परिवारबाट आएका हुन, जहाँ राजनीति केवल पेशा होइन, जीवनको अभ्यास थियो ।
उनका पिता नरसिंह व्यन्जनकार ललितपुर महानगरपालिका वडा नं. १० मा पटक-पटक स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुँदै पाँच दशकभन्दा बढी समय स्थानीय नेतृत्व सम्हाल्ने दुर्लभ उदाहरण बनेका थिए ।
पार्टीको झण्डा बिना जनताको विश्वास जित्नु सजिलो कुरा होइन, तर नरसिंह व्यन्जनकारले यही असम्भव जस्तो लाग्ने बाटोलाई सम्भव बनाए । त्यही घर आँगनमा हुर्केका कुमार व्यन्जनकारले राजनीति किताबबाट होइन, जनताको भीड, चुनावी मैदान र स्थानीय संघर्षबाट राजनीति सिके ।
राजनीतिक चेतना र रणनीतिक दृष्टि पिताकै अनुभवको निरन्तरता थियो उनमा । यही अनुभवले उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको उदयसँग जोड्यो । शाहको स्वतन्त्र राजनीतिक यात्रामा उनको मार्गदर्शन र रणनीतिक सहयोगका कारण उनलाई धेरैले शाहका राजनीतिक गुरुका रूपमा लिने गर्छन ।
अब त्यही व्यक्ति सिंहदरबारको केन्द्रमा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको रूपमा पुग्नु केवल व्यक्तिगत उपलब्धि होइन, एउटा लामो राजनीतिक विरासतको परिणाम हो ।
नेपालको राजनीतिमा कहिलेकाहीँ पदभन्दा ठूलो कुरा संस्कार र अनुभवको हस्तान्तरण हुन्छ भन्ने कुरा यो नियुक्तिले झस्काउछ । नरसिंहबाट कुमारले र कुमारबाट बालेन्द्र हुँदै नयाँ पुस्तासम्म आईपुगेको यो राजनीतिक धारा अब राज्यको नीति निर्माणको केन्द्रमा पुगेको छ ।
यो एउटा परिवारको कथा मात्रै होइनस विश्वास, संघर्ष र पुस्तौँसम्म सरेको राजनीतिक संस्कारको कथा पनि हो ।
