काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै अब देश आन्दोलनतर्फ जाने बताएका छन्।
ओली–लेखक पक्राउ प्रकरणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले वर्तमान सरकार प्रतिसोधको राजनीतिमा लागेको आरोप लगाएका हुन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार नआएर कांग्रेस–एमाले गठबन्धनको सरकार बने पनि प्रतिसोधकै राजनीति भइरहेको दाबी गरे।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो कुरा ढिलो गरी बुझ्छन्। मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिएँ- अरू जसले जिते पनि प्रतिसोधको राजनीति हुन्छ। प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो। अब हुने भनेको यस्तै मात्रै हो- आन्दोलन, आन्दोलन अनि आन्दोलन।/’
साम्पाङको यो अभिव्यक्तिले पछिल्लो राजनीतिक घटनाक्रमप्रति उनको असन्तुष्टि र आगामी दिनमा आन्दोलनको संकेत गरेको बुझिएको छ।
