सर्लाही । सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालय मातहत पर्ने कैलाशपुरी क्षेत्रमा दसैँको मौका छोपेर लाखौँ रुपैयाँको कौडासहित जुवाजन्य गतिविधि सञ्चालन हुने गरेको पाइएको छ।
स्थानीय स्रोतका अनुसार घुर्कौलीका सुकमान लामाले जुवा सञ्चालन गर्दै आएको र रातभर मन्दिर क्षेत्रमा कौडामार्फत ठूलो रकमको हारजित हुने गरेको पाइएको हो।
अझ उक्त क्षेत्रमा दसैँको समयमा तासदेखि कौडासम्मका जुवाजन्य गतिविधि सञ्चालन हुने गरेका छन्। कैलाशपुरी क्षेत्रमा रहेको एक मन्दिरमा समेत रातभर लाखौँ रुपैयाँको कौडा खेलाइने गरेको बताइएको छ।
धार्मिक स्थलमा रातभर ठूलो रकमको जुवा खेलाइने गरेको आरोपले स्थानीय सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
यस गतिविधिमा प्रहरीकै कर्मचारीको सहयोग र संरक्षण रहेको छ। स्रोतले घुर्कौलीका सुकमान लामाले जुवा सञ्चालन गर्ने र इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत सहायक हवल्दार दिनेश यादवले व्यवस्थापनमा सहयोग गर्ने गरेको आरोप लगाएको छ।
त्यस्तै, जुवा सञ्चालनका लागि स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्मका सुरक्षा अधिकारीसँग ‘सेटिङ’ मिलाइएको दाबी छ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र बर्तौला रहेका छन्। उनको कमान्डमा रहेको क्षेत्रमा जुवाजन्य गतिविधि सञ्चालन भएको भनिएको विषयमा प्रहरीले कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ। जबकी घुमुवा समेत रहेका यादव प्रहरी निरीक्षक बर्तौलाको खास मान्छे हुन्।
दसैँजस्ता ठूला चाडपर्वमा जुवातास नियन्त्रण गर्ने र शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरी प्रशासनको हो। यस्तो अवस्थामा धार्मिक स्थलसमेत प्रयोग गरेर ठूलो रकमको जुवा खेलाइने गरेको आरोप सत्य भए त्यसको निष्पक्ष छानबिन आवश्यक देखिन्छ।
तस्बिर : एआइमार्फत तयार पारिएको हो।

