काठमाडौं । केपी शर्मा ओली लाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको छ। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई मध्यरातिदेखि नै निगरानीमा राखेर बिहान उठ्नेबित्तिकै नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार सन्तोष खड्का नेतृत्वको टोली रातिदेखि नै परिचालित थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अन्तर्गतको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसँगै गुण्डुस्थित ओली निवास पुगेको थियो। टोली पुग्दा ओली सुतिसकेका कारण रातभर निवास वरपर सुरक्षा तैनाथ गरिएको र बिहान नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
पक्राउपछि उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी प्रतिष्ठान लगिएको छ। थप कानुनी प्रक्रिया आइतबार पूरा गरिने बताइएको छ। ओली आफ्नै गाडीमा प्रहरीसँगै गएका छन्।
यसअघि सुधन गुरुङ सहित सुरक्षा निकायका उच्च अधिकारीबीच नक्सालस्थित प्रहरी प्रमुखको निवासमा मध्यरातसम्म छलफल भएको थियो। सोही छलफलपछि गृह मन्त्रालयले पक्राउका लागि लिखित आदेश जारी गरेको र सोही आधारमा प्रहरी परिचालन गरिएको जनाइएको छ।
