काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तीन प्रहरीको मृत्युको जिम्मेवारी तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङमाथि औंल्याएको छ। आयोगले उनको निर्णय र निर्देशनकै कारण सुरक्षा संयन्त्र कमजोर बनेको निष्कर्ष निकालेको छ।
आयोगको प्रतिवेदनअनुसार भदौ २४ गते भएको आन्दोलनका क्रममा महाराजगन्जमा दुई र कोटेश्वरमा एक गरी तीन प्रहरीको ज्यान गएको थियो। ती घटनामा आन्दोलनकारीको आक्रमणबाट प्रहरीको निर्मम हत्या भएको उल्लेख गर्दै आयोगले घटनामा नेतृत्व तहको भूमिका गम्भीर रहेको ठहर गरेको छ। सो क्रममा अन्य दर्जनौँ प्रहरी घाइते भएका थिए।
प्रतिवेदनमा उल्लेख भएअनुसार सैनिक मुख्यालयबाट दिइएको निर्देशनका कारण स्थिति थप जटिल बनेको थियो। तत्कालीन आइजिपी खापुङ लले हिरासतमा रहेका थुनुवाहरूलाई छाड्न दिएको आदेशले भीड व्यवस्थापन झन् कमजोर भएको आयोगको ठहर छ।
आयोगले खापुङको उक्त कदमलाई गम्भीर लापरबाहीको रूपमा व्याख्या गर्दै मुलुकी अपराध संहिताअनुसार ‘लापरबाहीपूर्वक काम गरी ज्यान मार्न नहुने’ कसुरमा कारबाही गर्न सिफारिस गरेको छ। सोही कसुरमा उनलाई १० वर्षसम्म कैद सजाय हुन सक्ने आयोगले उल्लेख गरेको छ।
आयोगको निष्कर्षले आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवारी नेतृत्व तहसम्म पुग्ने संकेत गरेको छ भने यस प्रकरणले सुरक्षा निकायभित्रको निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।

