काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनसम्बन्धी छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छ।
करिब पाँच महिनाको अध्ययनपछि सरकारलाई बुझाइएको उक्त प्रतिवेदनमा सुरक्षा निकायका उच्च अधिकारीहरूमाथि एकैसाथ पुरस्कार र कारबाहीको सिफारिस गरिएको देखिएको छ।
प्रतिवेदनमा विशेषगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धी बिक्रम शाहबारे परस्पर विरोधी सुझाव भेटिएको छ। एउटै प्रतिवेदनको फरक–फरक पृष्ठमा शाहलाई पुरस्कृत गर्नुपर्ने र विभागीय कारबाही गर्नुपर्ने दुवै सिफारिस गरिएको देखिन्छ।

प्रतिवेदनको पृष्ठ नम्बर ६८९ मा शाहलाई पुरस्कृत गर्नुपर्ने उल्लेख छ। उक्त भागमा भदौ २४ गते टङ्गालस्थित भाटभटेनी र नक्सालको हिल्टन होटल क्षेत्रमा भएको आक्रमणका क्रममा आक्रमणकारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयभित्र प्रवेश गर्न नदिएको, साथै समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारी नेतृत्व देखाएको भन्दै उनको प्रशंसा गरिएको छ।
तर, सोही प्रतिवेदनको पृष्ठ नम्बर ७२५ मा भने शाहलाई विभागीय कारबाही गर्नुपर्ने सिफारिस गरिएको उल्लेख छ। आयोगले तयार पारेको कारबाही सिफारिस सूचीमा पनि उनको नाम समावेश गरिएको छ, जसले प्रतिवेदनभित्रै स्पष्ट विरोधाभास देखिएको छ।
जेनजी प्रदर्शनका क्रममा कार्य विभाग प्रमुखको जिम्मेवारी सम्हालेका शाह हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। एउटै व्यक्तिबारे एउटै प्रतिवेदनमा फरक–फरक निष्कर्ष प्रस्तुत हुनु आयोगको निष्कर्षमाथि नै प्रश्न उठाउने आधार बनेको छ।
प्रतिवेदनको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। तर बाहिरिएको विवरणले छानबिन प्रक्रियाको विश्वसनीयता र निष्पक्षतामाथि थप बहस निम्त्याउने देखिएको छ।

