काठमाडौँ । हालै सम्पन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने विभिन्न सुरक्षा निकाय तथा सरकारी अधिकारीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका छन्।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान व्यक्त गरे।
यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, गृह मन्त्रालयका उच्च अधिकारी तथा निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई समेत बधाईसहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यसपटकको निर्वाचनलाई ‘ऐतिहासिक रूपमा सफल’ भएको उल्लेख गर्दै कुनै प्रकारको रक्तपात नहुनु र पुनः निर्वाचनको आवश्यकता नपर्नु ठूलो उपलब्धि भएको बताए।
‘हामीले नयाँ मानक स्थापित गरेका छौँ। सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाबीचको प्रभावकारी समन्वयका कारण सकारात्मक परिणाम सम्भव भएको हो,’ उनले भने।
उनले केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा समितिहरू, कमाण्ड संरचना, सुरक्षा सेल तथा जिम्मेवार सरकारी अधिकारीहरूले निर्वाह गरेको भूमिका राज्यका लागि उत्तरदायी र उदाहरणीय रहेको बताए।
मन्त्री अर्यालले विगतका अनुभवलाई स्मरण गर्दै यसपटक निर्णय प्रक्रियामा थप सावधानी अपनाइएको उल्लेख गरे।
‘पहिले कतिपय अवस्थामा पर्याप्त जानकारीबिना निर्देशन दिइएको हुनसक्छ, तर यसपटक हामीले विषयलाई राम्रोसँग अध्ययन, विश्लेषण र समन्वय गरेर निर्णय गरेका छौँ,’ उनले भने।
उनले निर्वाचनमा खटिएका अधिकारीहरूको सिर्जनशीलता, क्षमता र प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै समन्वय र उत्तरदायित्व आवश्यक रहेको बताए।
