काठमाडौं । कञ्चनपुरको पुनर्वास क्षेत्रमा जुवा र वेश्यावृत्ति जस्ता अवैध गतिविधि खुलेआम सञ्चालन भइरहेको पाइएको छ। अझ चिन्ताको विषय, ती गतिविधि नियन्त्रण गर्नुपर्ने प्रहरीकै संरक्षण र संलग्नतामा सञ्चालन भइरहेको आरोपले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ।
पुनर्वासको डोकेबजार, आईबीआरडी बजार तथा आसपासका क्षेत्रका केही होटल तथा लजहरूमा यौनजन्य गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको स्थानीय स्रोतको दाबी छ। साथै, विभिन्न स्थानमा तास तथा खडखडे जुवासमेत दैनिकजसो हुने गरेको बताइन्छ।
एक स्थानीयकाअनुसार यस्ता गतिविधि प्रहरीकै ‘मिलेमतोमै चलिरहेको’ आशंका बढ्दो छ। ‘प्रहरीलाई थाहा नभएर यस्तो सम्भव हुँदैन, तर रोकिएको पनि देखिँदैन,’ एक स्थानीयले गुनासो गरे।
घुमुवामार्फत असुलीको आरोप
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती अन्तर्गत सादा पोशाकमा खटाइएका दुई जना ‘घुमुवा’ मार्फत होटल व्यवसायीहरूबाट मासिक रूपमा रकम उठाइने गरेको गम्भीर आरोपसमेत उठेको छ।
स्रोतका अनुसार अवैध गतिविधि सञ्चालन हुने स्थानहरूबाट नियमित असुली हुने गरेको दाबी गरिएको छ।
त्यसैगरी, पुनर्वास–६५ बिघा शिविर क्षेत्र तथा आईबीआरडी आसपास सञ्चालन हुने जुवाबाट समेत दैनिक रूपमा ठूलो रकम संकलन हुने गरेको चर्चा स्थानीय स्तरमै फैलिएको छ।
एसपी मौन, ‘लाइन’ चलाउनेसम्मको आरोप
यसबीच जिल्ला प्रहरी प्रमुख एसपी खड्क बहादुर खत्रीको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। स्थानीय स्रोतका अनुसार यस्ता गम्भीर आरोपहरू सार्वजनिक भइरहँदा पनि उनी मौन बसेको र बेखबरजस्तै पन्छिने गरेको आरोप छ।
‘माथिल्लो तह नै चुप भएपछि तल्लो तह झन् मनोमानी हुन्छ,’ एक स्थानीयले प्रतिक्रिया दिए। अझ केही स्रोतहरूले त अवैध गतिविधि नियन्त्रण गर्नुको सट्टा यस्ता ‘लाइन’ सञ्चालनमा माथिल्लो तहकै मौन सहमति वा निर्देशन रहेको हुन सक्ने दाबीसमेत गरेका छन्।
‘आकर्षक पोस्टिङ’को चर्चा
प्रहरी वृत्तभित्र कञ्चनपुरलाई ‘महत्त्वपूर्ण’ तथा ‘आकर्षक पोस्टिङ’का रूपमा हेरिने गरिन्छ। सीमावर्ती जिल्ला, उच्च आवतजावत र विभिन्न आर्थिक गतिविधिका कारण यहाँ जिम्मेवारी सम्हाल्न चाहने अधिकारीहरूबीच प्रतिस्पर्धा हुने गरेको चर्चा सुनिन्छ।
कतिपय जानकारहरूका अनुसार यस्ता जिल्लामा खटिने अवसरलाई प्रभाव र पहुँच देखिने ठाउँका रूपमा समेत लिने गरिन्छ। यद्यपि, कंचनपुरलाई ‘कमाइ हुने पोस्टिङ’का रूपमा हेरिने चर्चा पनि बेलाबेलामा उठ्ने गरेको छ।
यता, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार अवैध गतिविधि नियन्त्रणकै लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको हो।
‘हामीले होटल सञ्चालकहरूलाई सचेत गरिसकेका छौं। सूचनाका लागि सादा पोशाकमा प्रहरी खटाइएको हो, संरक्षण भन्ने कुरा निराधार हो,’ उनले भने।
यस्ता आरोप सार्वजनिक भएसँगै पुनर्वास क्षेत्रका बासिन्दाहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।
