काठमाडौं । डाँका चोरी मुद्दामा कैद भुक्तान गरी छुटेको केही समयमै पुनः चोरीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। ललितपुरको सिद्धिपुर क्षेत्रमा भएको सुन–चाँदी चोरी प्रकरणमा अनुसन्धान गर्दै प्रहरीले उनीहरूलाई चोरीका गरगहनासहित नियन्त्रणमा लिएको हो।
गत चैत ३ गते महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरस्थित कृष्णप्रसाद श्रेष्ठको घरबाट सुन–चाँदी चोरी भएको घटनापछि उपत्यका अपराध अनुसन्धान महाशाखा, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोली अनुसन्धानमा खटिएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका दुई जनालाई चोरीका गरगहनासहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३२ वर्षीय सजनकुमार श्रेष्ठ र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई हाल सोही क्षेत्रमा बस्दै आएका ३२ वर्षीय प्रेम लामा रहेका छन्।
प्रहरीका अनुसार प्रेम लामा यसअघि पटक–पटक गरी करिब ११ वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन्। कैदबाट छुट्नासाथ पुनः चोरीमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट चोरीमा प्रयोग भएका तथा घरबाट लगिएका सुन–चाँदीका गरगहना बरामद गरेको जनाएको छ।
घटनामा संलग्न दुवैजनामाथि चोरी मुद्दा दर्ता गरी सम्मानित अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घरमा सुरक्षाका उपाय अपनाउन तथा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
