काठमाडौं । ललितपुरको टिकाथली क्षेत्रमा ग्यारेज सञ्चालन गर्दै मोटरसाइकल चोरी गरी किर्ते कागजात बनाएर बिक्री गर्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले विशेष सूचनाको आधारमा कारबाही गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित ‘Bike Hospital’ नामक ग्यारेज सञ्चालन गर्दै विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी ल्याउने, त्यसका इन्जिन तथा चेसिस नम्बर परिवर्तन गरी नक्कली कागजात तयार पारेर बिक्री गर्ने कार्यमा उनीहरू संलग्न थिए।
पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–२ घर भई हाल टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका २९ वर्षीय भिमबहादुर अधिकारी (हाल काठमाडौं नरेफाँट बसोबास) तथा रौतहट वृन्दावन नगरपालिका–९ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २७ वर्षीय संजिवकुमार कुसवाहा रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका चार वटा मोटरसाइकल बरामद गरेको छ। बरामद हुनेमा केटिएम ड्युक २५०, केटिएम ड्युक २००, रोयल इन्फिल्ड ३५० र केटिएम एडभेन्चर २५० रहेका छन्। साथै तीन थान ब्लुबुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले चोरीका मोटरसाइकललाई ग्यारेजमा ल्याई इन्जिन र चेसिस नम्बर परिवर्तन गर्ने, नक्कली कागजात तयार पार्ने र त्यसपछि बिक्री गर्ने गरेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार पक्राउ परेकामाथि चोरी तथा किर्ते सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ। उनले यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत जारी रहेको जानकारी दिए।
प्रहरीले सवारीसाधन खरिद गर्दा आवश्यक कागजात राम्ररी जाँच गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
