काठमाडौं । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा बिल विवादपछि अमेरिका बस्ने एक व्यक्तिको दबाबमा तीन जना मजदुरलाई प्रहरीले पक्राउ गरेको घटना सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। घटना दरबारमार्गस्थित सारंगी रेस्टुरेन्टको हो।
पीडित पक्षकाअनुसार नुवाकोट घर भइ अमेरिका बस्ने राजेश पाण्डे नाम गरेका कांग्रेसनिकट नेता केही दिनअघि साथीसहित उक्त रेस्टुरेन्टमा पुगेका थिए। त्यहाँ उनले अत्यधिक मदिरा सेवन गर्दै रातभर होहल्ला गरेको र कर्मचारीसँग विवाद भएको बताइएको छ।
रेस्टुरेन्ट स्रोतकाअनुसार पाण्डे समूहले लामो समयसम्म मदिरा तथा विभिन्न परिकार अर्डर गरेका थिए। करिब डेढ लाख रुपैयाँ बराबरको बिल पुगेपछि कर्मचारीहरूले बिलबारे जानकारी गराउँदा विवाद सुरु भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार अत्यधिक मदिरा सेवन गरेका पाण्डेले ‘म अमेरिका बस्ने मान्छे हुँ, प्रहरीका सबै हाकिमसँग मेरो सम्बन्ध छ’ भन्दै कर्मचारीमाथि जाइलाग्न थाले। पटक–पटक बिल तिर्न अनुरोध गर्दा पाण्डेले उल्टै रेस्टुरेन्टका कर्मचारीमाथि गालीगलौज गरेको आरोप छ।
त्यही क्रममा उनले रेस्टुरेन्टमा कार्यरत एक महिला कर्मचारीमाथि समेत अपशब्द प्रयोग गरेका थिए। अति नै भएपछि कर्मचारीहरूले स्थिति सामान्य बनाउन प्रयास गर्दै उनलाई सम्झाइ–बुझाइ गरेर रेस्टुरेन्टबाट बाहिर निकालेका थिए।
तर रेस्टुरेन्टबाट बाहिरिने क्रममा पाण्डेले ‘तिमीहरूको रेस्टुरेन्ट बन्द गरिदिन्छु, मलाई चिनेका छैनौ’ भन्दै धम्की दिएको बताइन्छ।
त्यसपछि काठमाडौं प्रहरीले उल्टै रेस्टुरेन्टमै काम गर्ने तीन जना कर्मचारीलाई पक्राउ गरेको हो। ती कर्मचारीहरू राति काम गर्दै पढाइ समेत गर्दै आएका श्रमिक भएको बताइएको छ।
पक्राउ परेकामध्ये तीनै जना सामान्य पारिश्रमिकमा काम गर्ने मजदुर रहेको र उनीहरूलाई बिना कारण पक्राउ गरिएको पीडित परिवारको दाबी छ। पीडितका आफन्तहरूले ‘सत्य–तथ्य नबुझी पहुँचवालाको कुरा सुनेर गरिब मजदुरलाई थुन्ने काम भएको’ आरोप लगाएका छन्।
पिडितका एक आफन्तले भने, ‘सरकार परिवर्तन भएपछि हामीजस्ता गरिबको पक्षमा पनि आवाज उठ्छ भन्ने आशा थियो, तर अहिले पनि पहुँच भएकाको मात्रै कुरा सुनिने अवस्था देखियो,’ भन्दै गुनासो गरे।
घटनाबारे बुझ्न खोज्दा काठमाडौं प्रहरी प्रमुख रमेश थापाले केहि व्यक्तिहरू पक्राउ परेको बताए। उनले थपे, ‘जाहेरवाला पाण्डेले आफ्नो २२०० डलर चोरी गरेको भन्दै निवेदन दिएपछि दर्ता प्रक्रिया अगाडि बढाएर पक्राउ गरी अनुसन्धान थालेका छौँ।’
स्रोतका अनुसार पाण्डेको ठमेलस्थित होटल व्यवसाय तथा काठमाडौंको गोंगबु क्षेत्रमा रहेको एक होटलमा समेत उच्च सरकारी कर्मचारीहरूको लगानी रहेको चर्चा छ। यसबाहेक पाण्डे विदेश बस्दै हुन्डी कारोबारसँग समेत जोडिएको आरोप समेत छ।
यस घटनाले दरबारमार्गजस्तो संवेदनशील क्षेत्रमा प्रहरीको राजनीतिक दबाब र श्रमिकमाथिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ। पीडितका आफन्तहरुले यस घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
यता, पाण्डेलाई सम्पर्क गर्दा आफूलाई पैसासँग मतलब नभएको तर उनीहरुले गलत इन्टेन्सन राखेर आफ्नो फोनमा अर्काको नम्बर सेभ गरिदिए पछि परिसरमा गएर निवेदन दिएको बताए ।
उनको केहि प्रहरीसँग हिमचिम समेत छ।
