काठमाडौं। दाङको घोराहीमा फागुन २१ गते चुनावको रौनकता थियो। जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गर्दै जिल्लामा शान्ति सुरक्षा अवस्था कडा रहेको जानकारी गराइरहेको थियो। तर, भोलिपल्ट फागुन २२ गते मतगणनाको तयारी भइरहेका बेला रास्वपा पार्टी कार्यालयमा कुटपिटको घटना भएको छ।
फागुन २२ गते बिहानदेखि मतगणनाको तयारी भइरहेको थियो भने मतगणना दिनभर र रातभर निरन्तर चलिरहेको थियो। सोही क्रममा नेकपा एमाले दाङका जिल्ला सदस्य तथा निर्वाचन विभाग प्रमुख बिबेक श्रेष्ठसहितको समूह गाडी लिएर रास्वपा दाङ क्षेत्र नम्बर–२ को पार्टी कार्यालय पुगेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार श्रेष्ठसहितको टोलीले एकाएक पार्टी कार्यालयमा प्रवेश गरी त्यहाँ मतगणना सुनिरहेका समर्थक र कार्यकर्तामाथि हेल्मेटले अन्धाधुन्ध प्रहार गर्दै कुटपिट गरेको आरोप छ। घटनाका क्रममा श्रेष्ठले कुर्सीबाट लडाउँदै टाउको र छातीमा प्रहार गरेको बताइएको छ।
कुटपिट गर्न प्रयोग भएको गाडी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङ क्षेत्र नम्बर–२ (क) बाट २०७९ मा प्रदेशसभा सदस्यका उम्मेदवार बनेका निर्माण व्यवसायी बलिभद्र रानाका छोरा अबिनाश रानाको रहेको बताइएको छ। उक्त गाडीमा अबिनाश स्वयं थिए वा थिएनन् भन्ने विषय भने खुल्न सकेको छैन।
रास्वपा पार्टी कार्यालयमै भएको कुटपिटको घटनाक्रम नजिकैबाट प्रहरीको गाडी गुज्रिएको देखिएको र घटना सकिएपछि संलग्न व्यक्तिहरू रातो रंगको स्विफ्ट गाडीमा चढेर गएको सिसिटिभी फुटेजमा देखिएको छ। उक्त फुटेज रास्वपाका विजयी उम्मेदवार बिपिनकुमार आचार्यले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भयो। आक्रमणमा संलग्न श्रेष्ठसहितको टोली घटनापछि फरार भएको बताइएको छ। विजयी उम्मेदवार आचार्यले आक्रमणमा संलग्नलाई पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन्।
यस घटनापछि रास्वपा कार्यकर्ताले दोषीमाथि कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरी दबाब बढाएका थिए। तर, प्रहरीले प्रारम्भमा घटनालाई गम्भीर रूपमा नलिएको आरोप पनि लागेको छ।
पछिल्लो समय रास्वपा नेतृत्वले लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्रीलाई घटनाबारे जानकारी गराएपछि उनले दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठलाई आरोपितलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताइएको छ। त्यसपछि प्रहरीले बिबेक श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
तर, उनलाई २४ घण्टा पनि हिरासतमा नराखी छाडिएको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराले भने श्रेष्ठलाई नियन्त्रणमा लिइएको र अन्य संलग्नको खोजी भइरहेको बताएका छन्।
यसबीच रास्वपाका केन्द्रीय सदस्य इ. अनन्तराज घिमिरेले पीडित पक्षलाई मिलापत्रका लागि दबाब दिएको आरोप पनि लागेको छ। घोराही–४ का वडा अध्यक्ष मुनाल घिमिरेका अनुसार कानुनी प्रक्रिया अघि बढाउन जाहेरी दिने तयारी भए पनि अन्तिम समयमा प्रक्रिया रोकिएको थियो।
जाहेरी नपरेको भन्दै प्रहरीले कडा कारबाही नगरेको भन्दै प्रश्न उठेको छ। यस घटनाले दाङको शान्ति सुरक्षा अवस्था र प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न चिन्ह खडा भएको स्थानीयको भनाइ छ।
यसअघि पनि बिबेक श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलमाथि कुटपिट गरेको आरोपमा प्रहरी कारबाही भोगेका थिए। त्यस्तै जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरीलाई दुर्व्यवहार गरेको आरोप पनि उनीमाथि लागेको बताइन्छ।
राजनीतिक संरक्षण र प्रशासनिक मिलेमतोका कारण श्रेष्ठ पटक–पटक कानुनविपरीत गतिविधिमा संलग्न हुँदै आएको आरोप स्थानीयले लगाएका छन्।
