काठमाडौं । २०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।
सुरक्षा व्यवस्थापन, झडपका घटनाको न्यूनता, मानवीय क्षति नहुनु तथा मतदान प्रक्रिया अवरोधरहित रूपमा सम्पन्न हुनुका आधारमा यसपटकको निर्वाचनलाई तुलनात्मक रूपमा सफल मानिएको छ।
२०७९ सालको निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच थुप्रै झडपका घटनाहरू भएका थिए। ती घटनाका कारण कतिपय स्थानमा मतदान स्थगित गर्नुपर्ने अवस्था समेत सिर्जना भएको थियो।
सो क्रममा बाजुरा र कालिकोटमा दुई–दुई जना गरी चार जनाको मृत्यु भएको थियो भने इलाम, सप्तरी, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, दार्चुला, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना घाइते भएका थिए।
त्यस्तै ताप्लेजुङ, इलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु र दार्चुला लगायतका जिल्लामा विष्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया विथोल्ने प्रयास भएका थिए।
ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लामा गरी करिब ५० स्थानमा झडपका घटनाहरू भएका थिए भने उदयपुर, दोलखा र सिन्धुपाल्चोकमा बुथ कब्जा भएको थियो। ती घटनाका कारण देशभरका ६२ मतदान स्थलमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो।
तर २१ फागुनको सम्पन्न निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र व्यवस्थित बनाइएकाले समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।
मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उपस्थितिलाई प्रभावकारी बनाइएकाले कुनै पनि स्थानमा ठूलो झडप वा हिंसात्मक घटना हुन पाएन। कतिपय स्थानमा सामान्य विवाद उत्पन्न भए पनि सुरक्षामा खटिएका प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएपछि मतदान प्रक्रिया प्रभावित हुन पाएन।
विशेषगरी ‘जनजी आन्दोलन’का क्रममा अप्रत्यासित क्षति व्यहोरेको नेपाल प्रहरीको मनोबल, लुटिएका हतियार तथा कारागारबाट फरार कैदिबन्दीका घटनाले विभिन्न आशंका उत्पन्न भइरहेका बेला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरी उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटिएको थियो।
सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू परिचालन गरी संवेदनशील जिल्लामा उच्चस्तरीय अनुगमन तथा सुपरीवेक्षण गरिएकाले सुरक्षा व्यवस्था थप प्रभावकारी बनेको बताइएको छ।
मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण देखिएको छ। अघिल्लो निर्वाचनमा मृत्यु र घाइतेका घटना सार्वजनिक भए पनि हालै सम्पन्न निर्वाचनमा त्यस्ता अप्रिय घटना दोहोरिन पाएनन्।
मतदान स्थगन तथा पुनः मतदानको सन्दर्भमा पनि यसपटक उल्लेखनीय सुधार देखिएको छ। कतिपय स्थानमा प्राविधिक समस्या वा सामान्य विवाद देखिए पनि मतदान स्थगित भई पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना नभई देशभर एकैसाथ निर्वाचन सम्पन्न भएको थियो।
अघिल्ला निर्वाचनबाट प्राप्त अनुभव, सुरक्षा निकायहरूबीचको समन्वय, मतदाता तथा राजनीतिक दलको सचेतना र निर्वाचन व्यवस्थापनमा गरिएको सुधारका कारण २१ फागुनको निर्वाचनलाई तुलनात्मक रूपमा व्यवस्थित र शान्तिपूर्ण निर्वाचनका रूपमा लिइएको छ।
सुरक्षा रणनीति, अनुशासित परिचालन र प्रभावकारी नेतृत्वका कारण निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ।
