काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा अवकाशप्राप्त प्रहरी अधिकृतहरूको चुनावी प्रतिस्पर्धामा रोचक चित्र देखिएको छ। संगठनको शीर्ष नेतृत्व सम्हालेका केही पूर्व प्रहरी प्रमुखहरू पराजित भइरहँदा तल्लो तहबाट अवकाश लिएका उम्मेदवार भने विजयी बन्ने क्रममा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका पूर्व डिएसपी गोविन्द पन्थी गुल्मी–२ बाट विजयी भइसकेका छन्। उनले नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टलाई पराजित गरेका हुन्। पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दा बिष्टले १६ हजार ४०६ मत ल्याएका छन्।
यस्तै, कपिलवस्तु क्षेत्र नं. २ बाट रास्वपाकै उम्मेदवार बनेका पूर्व एसएसपी विक्रम थापा पनि जितको नजिक पुगेका छन्। हालसम्मको मतगणनामा थापाले १६ हजार २४६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बृजेश कुमार गुप्ताले ९ हजार ९१५ मत ल्याएका छन्।
त्यसैगरी झापा क्षेत्र नं. ४ बाट रास्वपाबाट उम्मेदवार बनेका पूर्व सई शम्भुप्रसाद ढकालको जित लगभग सुनिश्चित देखिएको छ। हालसम्मको मतगणनामा उनले १८ हजार ८११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी लालप्रसाद सावाँले ५ हजार ५९० मत मात्र ल्याएका छन्।
यी बाहेक रास्वपाबाटै उम्मेदवार बनेका पूर्व एआईजी विश्वराज पोखरेल भने ओखलढुंगामा झण्डै एक हजार मतले दोस्रो स्थानमा छन्।
यसैबीच, पूर्व आईजीपी ध्रुवबहादुर प्रधान नवलपरासीबाट तथा पूर्व आईजीपी सर्वेन्द्र खनाल बारा क्षेत्रबाट भने पराजित भइसकेका छन्।
पूर्व प्रहरी नेतृत्व र तल्लो तहका पूर्व अधिकृतबीचको यो चुनावी परिणामले नेपाली राजनीतिमा ‘ठूलो पदभन्दा जनसम्पर्क र स्थानीय प्रभाव निर्णायक’ हुने संकेत गरेको विश्लेषण गरिएको छ।
