काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले अबको युद्ध भ्रष्टाचार अन्त्यको लागि भएको दाबी गरेका छन् । काठमाडौं-९ बाट निर्वाचित अर्यालले मतदातालाई सम्बोधन गर्दै आफ्नो यो जित व्यक्तिको नभई भ्रष्टाचार र कुशासनविरुद्धको जनमत भएको बताए ।
उनले अबको आफ्नो सम्पूर्ण कार्यकाल मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन र बेथिति अन्त्य गर्न समर्पित हुने दृढता व्यक्त गरे । चुनावी प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूलाई आफ्ना सहयात्रीको संज्ञा दिँदै अर्यालले आफ्नो मुख्य लडाइँ भने भ्रष्टाचारी तत्वहरूसँग मात्र हुने प्रष्ट पारे ।
उनले यस निर्वाचनलाई नेपाली राजनीतिक इतिहासकै एक विशेष मोडको रूपमा व्याख्या गर्दै जनताले सुशासनको पक्षमा स्पष्ट फैसला सुनाएको बताए । आफूहरू केवल पद र प्रतिष्ठाका लागि नभई मुलुकमा आमूल परिवर्तन ल्याउन राजनीतिमा आएको उनको जिकिर थियो ।
उनले भने, ‘म हार्न नजान्ने गोर्खाली हुँ । मैले जितेको मात्र होइन, अब यहाँका जनताले न्यायको अनुभूति गर्नेछन् । काठमाडौं क्षेत्र नम्बर ९ का हरेक समस्यालाई नजिकबाट समाधान गर्ने र जनताको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता जनाए ।’
अर्यालले कुल ३५ हजार ९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत मात्र प्राप्त गरिन् । २९ हजार ६३३ को मतान्तरका साथ अर्याल काठमाडौं उपत्यकामै सबैभन्दा बढी मतान्तरले विजयी हुने उम्मेदवार बनेका छन् ।
समानुपातिकतर्फको मतगणनामा पनि संयम र सहकार्यका लागि सबैलाई आग्रह गरे ।
