काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय भएको छ। फागुन २१ गते बिहीबार हुने मतदानलाई लक्षित गर्दै गृह मन्त्रालय ले देशभर ‘हाई अलर्ट’ घोषणा गर्दै ७७ वटै जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको जनाएको छ।
मतदानको अघिल्लो दिन मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरी जिल्लागत सुरक्षा, व्यवस्थापकीय तयारी र सम्भावित जोखिमबारे विस्तृत समीक्षा गरेको हो। गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा करिब तीन घण्टा चलेको बैठकमा संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूको अवस्थादेखि आकस्मिक प्रतिक्रिया संयन्त्रसम्मका विषयमा केन्द्रित छलफल भएको स्रोतले जनाएको छ।
बैठकपछि मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्याइसकिएको छ। शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको प्रतिवेदन जिल्लाबाट प्राप्त भएको छ। तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग बीच समन्वयात्मक सुरक्षा योजना लागू गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। संवेदनशील क्षेत्रमा गस्ती, निगरानी र चेकजाँच बाक्लो बनाइएको छ भने सीमावर्ती नाकामा समेत विशेष सतर्कता अपनाइएको छ।
गृहसचिव श्रेष्ठले कुनै पनि प्रकारको उक्साहट, अफवाह वा निर्वाचन बिथोल्ने गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिएका छन्। सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचना, भीड उक्साउने प्रयास तथा मतदातामा त्रास सिर्जना गर्ने गतिविधिमाथि कडा निगरानी राखिएको जनाइएको छ। आवश्यक परे तत्काल केन्द्रबाट थप सुरक्षा सहयोग उपलब्ध गराइने तयारी पनि गरिएको छ।
जिल्लाहरूले आफ्नो तयारीबारे केन्द्रलाई अवगत गराउँदै राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र निर्वाचन कर्मचारीबीच समन्वय प्रभावकारी रहेको बताएका छन्। भौगोलिक कठिनाइ भएका तथा मौसमीय जोखिम देखिएका जिल्लामा वैकल्पिक योजना समेत तयार गरिएको उल्लेख छ।
गृह प्रशासनले मतदानको दिन आकस्मिक घटना हुन नदिन द्रुत प्रतिक्रिया टोली तयारी अवस्थामा राखिएको जनाएको छ। स्वास्थ्य आपतकालीन संयन्त्र, सञ्चार र यातायात समन्वयलाई पनि उच्च प्राथमिकतामा राखिएको छ।
मतदान प्रक्रिया शान्तिपूर्ण र विश्वसनीय बनाउन राज्य संयन्त्र पूर्ण तयारीका साथ मैदानमा उत्रिएको दाबी गर्दै मन्त्रालयले मतदातालाई ढुक्क भएर मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा रहेको यस निर्वाचनलाई सफल बनाउन सबै पक्ष जिम्मेवार र संयमित हुनुपर्नेमा गृहको जोड छ।
अब देशको ध्यान बिहीबार हुने मतदान प्रक्रियामा केन्द्रित छ- सुरक्षा घेराबीच जनताको मत निर्णायक बन्नेछ।
