जनकपुरधाम । मधेश प्रदेशको धनुषा श्रृंखलावद्ध रूपमा विस्फोट हुँदा थप दुई जना घाइते भएका छन् ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढ र बर्दिवासबीच पर्ने रातो पुल (महोत्तरी साइड_ मा रातो टेपले बेरिएको दुई वटा शंकास्पद वस्तु फेला परेको छ।
प्राप्त विवरणअनुसार पुलमा राखिएको वस्तु छुँदा एउटा पड्किएको थियो। उक्त घटनामा जिल्ला कैलाली, घोडाघोडी नगरपालिका–१० निवासी सन्देश चौधरी र समीर चौधरी सामान्य घाइते भएका छन्। दुवैलाई उपचारका लागि बर्दिवासतर्फ लगिएको छ।
घटनास्थलमा अर्को एक शंकास्पद वस्तु अझै रहेको छ। सुरक्षाकर्मीले क्षेत्रलाई नियन्त्रणमा लिई सर्वसाधारणको आव-जावतमा रोक लगाएका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गर्दै बम डिस्पोजल टोली घटनास्थलमा पुगेको र शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाइएको जनाएको छ। यसअघि पनि यसअघि मिथिला-९ बडहरी पुल क्षेत्रमा वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका थिए ।
घटनापछि पूर्व(पश्चिम लोकमार्ग क्षेत्रमा केही समय त्रास फैलिएको छ। प्रहरीले सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन र तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
