काठमाडौं । गत कात्तिक २७ गते नेपाल प्रहरीको ३३औँ प्रहरी महानिरीक्षकको रूपमा पदभार ग्रहण गरेका दानबहादुर कार्कीले संगठनलाई उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री तथा पूर्णतः जनमुखी बनाउने दृढ संकल्पका साथ कर्तव्यपथमा पाइला चालेका छन् ।
नेतृत्व सम्हालेको छोटो अवधि केवल १०० दिनमै उनले नीतिगत स्पष्टता, कार्यसम्पादनमुखी व्यवस्थापन, आन्तरिक अनुशासन सुदृढीकरण र वैज्ञानिक अपराध अनुसन्धान पद्धतिको संस्थागत अवलम्बनमार्फत संगठनमा देखिने र महसुस गर्न सकिने परिवर्तनको आधार तयार गरेका छन् ।
अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूसँगको निरन्तर समन्वय, अनुभव र ज्ञानको सम्मान तथा सुझावलाई आत्मसात गर्ने नेतृत्व शैलीले उनलाई दूरदर्शी, समावेशी र परिपक्व नेतृत्वका रूपमा स्थापित गरेको छ । यसले संस्थागत निरन्तरता, नीति निर्माणमा सन्तुलन र संगठनप्रतिको विश्वासलाई थप सुदृढ बनाएको छ ।
सुशासन, प्रविधि र जनमुखी सेवामा स्पष्ट प्राथमिकता
यस अवधिमा सुशासन, आन्तरिक निगरानी प्रणालीको प्रभावकारिता, सेवा प्रवाहमा पारदर्शिता तथा नागरिकमैत्री व्यवहारलाई उच्च प्राथमिकतामा राखिएको छ ।
डिजिटल रूपान्तरण, कार्यसम्पादन मूल्यांकन प्रणालीको सुदृढीकरण र उत्तरदायित्व संस्कृतिको विकासले नेपाल प्रहरीलाई आधुनिक, पेशागत र परिणाममुखी संरचनातर्फ उन्मुख गराएको छ । प्रहरी–नागरिक सम्बन्ध विश्वास, सम्मान र सहकार्यमा आधारित हुँदै गएको छ ।
तल्लो दर्जाका प्रहरीप्रति विशेष संवेदनशीलता
सधैं तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको सेवा, सुविधा र हित प्रवर्द्धनका लागि निरन्तर पहल गर्दै आउनु भएको उनको प्रतिबद्धताले संगठनभित्र आत्मसम्मान, मनोबल र कार्यउत्साह उल्लेख्य रूपमा बढाएको देखिन्छ ।
आधारभूत तहका प्रहरीको व्यावसायिक आवश्यकता र अवसरको समान पहुँचलाई प्राथमिकतामा राख्ने कार्यशैलीले नेतृत्वको मानवीय र समावेशी स्वरूप प्रस्ट पारेको छ ।
प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा १०० दिनभित्र भएका प्रमुख उपलब्धिहरूमा
जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापनका लागि कार्यसम्पादन मूल्यांकन मार्गदर्शन कार्यान्वयन
प्रहरी सहयोगीदेखि वरिष्ठ नायब निरीक्षकसम्मका लागि आकस्मिक सहुलियत कर्जा अनलाइन प्रणाली सञ्चालन
राशन स्केलमा असमानता हटाउँदै थप ३ प्रकारका सामग्री समावेश
७ वटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी
AI–AAC (Artificial Intelligence and Advanced Analytics Cell) स्थापना
गम्भीर अपराधमा झण्डै शतप्रतिशत अनुसन्धान सफलता
हजारौँ फरार प्रतिवादी पक्राउ, लागूऔषध, अवैध हतियार र राजश्व चुहावट नियन्त्रण
४ हजारभन्दा बढी हराएका व्यक्ति परिवारको जिम्मा
२७ हजारभन्दा बढी सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत १२ लाखभन्दा बढी नागरिक लाभान्वित
CCTV, ANPR प्रविधि विस्तार, हराएका सवारी र व्यक्तिको अनलाइन प्रणाली
विपन्न समुदाय, शहीद तथा अमर प्रहरी परिवारप्रति विशेष सामाजिक उत्तरदायित्व
सुनौलो १०० दिन- परिवर्तनको प्रारम्भिक अध्याय
प्रहरी महानिरीक्षक पदमा नियुक्तिपछिको यो ‘सुनौलो १०० दिन’ केवल समयको गणना मात्र नभई संगठनात्मक रूपान्तरणको प्रारम्भिक अध्याय, प्रतिबद्ध नेतृत्वको उदाहरण र भविष्यको स्पष्ट मार्गचित्रका रूपमा स्थापित भएको छ ।
यसले नेपाल प्रहरीको संस्थागत विश्वसनीयता अभिवृद्धि गर्दै दीर्घकालीन सुधार र सुदृढ सुरक्षा व्यवस्थाको बलियो आधार तयार गरेको छ ।
प्रहरी महानिरीक्षक कार्कीको कुशल नेतृत्वले अनुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण व्यवस्थापनलाई मजबुत बनाउँदै अपराध नियन्त्रणमा कठोरता, सेवा प्रवाहमा संवेदनशीलता र जनमुखी दृष्टिकोणको सन्तुलन कायम गरेको स्पष्ट देखिन्छ ।
यी १०० दिनहरू नेपाल प्रहरीको इतिहासमा परिवर्तन, प्रतिबद्धता र भविष्य निर्माणको अविस्मरणीय उदाहरणका रूपमा अंकित हुने निश्चित देखिन्छ ।
