काठमाडौं । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-९ मा रहेको शिवानि स्टोरमा छापा मारेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन्।
प्रहरीले उनीहरूको शरीर र पसलको खानतलासी गर्दा स्रोत नखुलेको १२ लाख ४७ हजार रुपैयाँ नगद फेला पारेको छ। बरामद रकममा एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट रहेका छन्।
नगदका साथै प्रहरीले उनीहरूको साथबाट ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा समेत बरामद गरेको छ। साथै, कारोबारमा प्रयोग भएको आशंका गरिएको बा८८प १३२१ नम्बरको स्कुटर र तीन थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध र अवैध रकमका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
