झापा । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै झापा क्षेत्र नम्बर–५ मा सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिएको छ। प्रभावशाली उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएपछि सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यस क्षेत्रलाई संवेदनशील सूचीमा राख्दै पाँच जना डीएसपीको कमान्डमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिएको झापा–५ मा सानोतिनो घटनासमेत हुन नदिन सुरक्षा घेराबन्दी कडा पारिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकमा नियमित रूपमा डीएसपीको दरबन्दी भए पनि यसपटक गौरादह, गौरीगन्ज र कमल गाउँपालिकासहित अन्य पालिकामा समेत एक–एक डीएसपी खटाएर सुरक्षा कमान्ड सुदृढ बनाइएको छ।
यस क्षेत्रमा केपी शर्मा ओली (नेकपा एमाले) र बालेन शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) जस्ता प्रभावशाली उम्मेदवार आमनेसामने प्रतिस्पर्धामा छन्। दुवै पक्षका समर्थकको सक्रियता बढ्दै गएपछि सुरक्षा सतर्कता थप कडा पारिएको हो।
प्रहरी स्रोतका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयबाट यसअघि नै थप १०० सुरक्षाकर्मी झापा–५ मा तैनाथ गरिएको थियो। पछिल्ला दिनमा पुनः चार डीएसपीसहित ठूलो संख्यामा प्रहरी जनशक्ति थपिएको छ।
झापा प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति तीन गुणासम्म बढाइएको जानकारी दिइन्। उनका अनुसार मतदान पूर्व र मतदानका दिन कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र पूर्ण तयारी अवस्थामा राखिएको छ।
प्रहरीले निर्वाचन आचारसंहिता कार्यान्वयन, भीड व्यवस्थापन र सम्भावित द्वन्द्व न्यूनीकरणलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।
