काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले विशेष रणनीति अघि सारेको छ। निर्वाचन बिथोल्ने गतिविधि नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले ‘विश्लेषण महाशाखा’ गठन गरेको छ।
कार्य विभागको मातहत रहने यस महाशाखाको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले सम्हालेका छन्। महाशाखाले निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहहरूको गतिविधिमाथि निगरानी, विश्लेषण तथा जोखिम मूल्याङ्कन गर्नेछ। सोही आधारमा निर्वाचन सुरक्षा रणनीति तयार पारिने प्रहरी स्रोतले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार, ‘निर्वाचन बिथोल्ने समूहहरूको गतिविधि पहिचान, विश्लेषण र आवश्यक प्रतिकारात्मक रणनीति निर्माण गर्ने जिम्मेवारी विश्लेषण महाशाखालाई दिइएको छ।’ सुरक्षा चुनौतीको पूर्वानुमान गरी त्यसअनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ।
प्रहरीको विश्लेषणअनुसार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सहित कम्तीमा ६ वटा समूह निर्वाचन बिथोल्न सक्रिय देखिएका छन्। प्रसाईं हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्।
प्रहरीले सम्भावित अस्थिरता र अवरोधलाई समयमै नियन्त्रणमा लिन निगरानी सशक्त बनाएको जनाएको छ। शान्तिपूर्ण मतदान वातावरण सुनिश्चित गर्न सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा तयारीलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रहरीको तयारी छ।
