काठमाडौं । अमेरिकाको Fairfax County मा एक नेपाली परिवारभित्र सोमबार बिहान भएको बीभत्स घटनाले समुदाय स्तब्ध बनेको छ।
प्रहरीका अनुसार ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै अपार्टमेन्टमा १० इन्च लामो धारिलो हतियार प्रयोग गरी श्रीमती ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापामाथि अन्धाधुन्ध प्रहार गरेका थिए। बिहान करिब ५:१५ बजे पर्सिमोन ड्राइभस्थित घरमा घरेलु हिंसा भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो।
घटनाका बेला ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। झगडाको आवाज सुनेपछि उनले ९११ मा फोन गरी घरभित्र छिर्दा श्रीमती र सासूलाई रक्ताम्मे अवस्थामा फेला पारे। त्यसपछि आक्रमणकारीले उनीमाथि पनि सोही हतियारले प्रहार सुरु गरेको बताइएको छ।
Fairfax County Police Department का प्रमुख Kevin Davis ले घटनालाई ‘कल्पनाबाहिरको भयावह दृश्य’ भन्दै वर्णन गरेका छन्। प्रहरीका अनुसार घटनास्थलमै पुगेका अधिकारीहरूले बारम्बार हतियार फाल्न आदेश दिए पनि नमानिएपछि एक प्रहरीले गोली चलाएका थिए। गोली लागेपछि छत्रबहादुरको घटनास्थलमै मृत्यु भयो।
आक्रमणमा परेका बिन्दा र ममताको मृत्यु भएको छ भने गम्भीर घाइते सन्तोष बस्नेतको अवस्था नाजुक छ। घरमा रहेको एक वर्षीय शिशु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानले परिवारको यसअघि कुनै आपराधिक पृष्ठभूमि नरहेको देखाएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी छ। स्थानीय प्रहरीले आफन्तहरूसँग सम्पर्क गरी थप विवरण संकलन गरिरहेको जनाएको छ।
यो घटनाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।
