काठमाडौं । नियामकीय प्रावधान उल्लंघन गरेको आरोपमा नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि कडा कारबाही गरेको छ।
राष्ट्र बैंकले जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको र लिखित आदेश पालना नगरेको ठहर गर्दै तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० (२) (ग) अनुसार जनही दुई लाख रुपैयाँ जरिवाना गरेको हो।
नियामकको कारबाहीसँगै बैंकको कमजोर बन्दै गएको वित्तीय अवस्थाबारे पनि बहस चुलिएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको नाफा १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन मुनाफा झनै तीव्र रूपमा ४२ प्रतिशतभन्दा बढीले घटेको छ।
बैंकको गैरबैंकिङ सम्पत्ति लगातार बढिरहेको छ भने कर्जा असुली प्रक्रिया प्रभावकारी हुन नसकेको विश्लेषण छ। आक्रामक कर्जा विस्तार नीतिको असर अझै बैंकले व्यहोर्नुपरेको देखिन्छ। लिलामी प्रक्रिया पटक–पटक असफल हुँदा नगद प्रवाहमा समेत दबाब बढेको छ।
नयाँ सीईओ सुजित शाक्यले सुधारको प्रतिबद्धता जनाए पनि व्यवहारिक सुधार अपेक्षाअनुसार देखिन नसकेको कर्मचारी र विश्लेषकहरूको भनाइ छ। उच्च ब्याजदर, असुलीकेन्द्रित रणनीति र निर्णय प्रक्रियामा सञ्चालक समितिको प्रभाव बढ्दा संस्थागत स्वतन्त्रता कमजोर बनेको आरोप समेत छ।
नियामकीय कारबाही र खस्कँदो वित्तीय सूचकले एनआईसी एशिया बैंकमाथि दबाब थपिएको छ। अब सुधारका ठोस कदम नचालिए दीर्घकालीन स्थायित्वमै प्रश्न उठ्ने संकेत देखिएको छ।
