काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय भएको छ। सरकारले सातै प्रदेशको सुरक्षा अवस्था अध्ययन गर्न फिल्डमा खटाएका अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले आफ्नो प्रतिवेदन प्रहरी नेतृत्वसमक्ष बुझाएका छन्।
आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की लाई सातै प्रदेशबाट फर्किएका एआईजीहरूले शान्ति–सुरक्षा अवस्था, सम्भावित चुनौती र तयारीका खाका समेटिएको प्रतिवेदन बुझाएका हुन्।
कोसीमा राजन अधिकारी, मधेसमा डम्बर बिक, बागमतीमा सिद्धिविक्रम शाह, गण्डकीमा मनोज केसी, लुम्बिनीमा उमाप्रसाद चतुर्वेदी, कर्णालीमा सुशील सिंह राठौर र सुदूरपश्चिममा हिमालयकुमार श्रेष्ठ खटिएका थिए। काठमाडौँ उपत्यकाको कमान्ड भने एआईजी ईश्वर कार्कीले सम्हाल्नेछन्।
एआईजीहरूको रिपोर्टमा केही जिल्लामा जनशक्ति र स्रोतसाधन अभाव देखिएको उल्लेख छ। सुरक्षा संवेदनशील स्थानमा तत्काल जनशक्ति थप, रिजर्भ टोली तयारी र मुख्यालयबाट स्पष्ट निर्देशन आवश्यक रहेको सुझाव दिइएको छ।
विशेषगरी मधेसका केही जिल्लामा पछिल्लो समय देखिएको अस्थिरता र होली आसपास हुन सक्ने गतिविधिलाई मध्यनजर गर्दै थप मूल्यांकन सुरु गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्देशनपछि लुम्बिनीका एआईजी उमाप्रसाद चतुर्वेदीलाई समेत मधेसको सुरक्षा अवस्था बुझ्न पठाइएको छ।
यसैबीच झापा र सर्लाहीमा एक–एक जना एसपी थप गर्ने तयारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै अन्य संवेदनशील जिल्लामा पनि आवश्यकताअनुसार उच्च अधिकारी परिचालन गरिनेछ।
प्रहरी मुख्यालयले प्रदेश कार्यालय र तालिम केन्द्रमा कार्यरत अधिकृतलाई समेत आवश्यकताअनुसार परिचालन गर्ने तयारी गरेको छ।
निर्वाचन सुरक्षाका लागि ७२ हजार नेपाल प्रहरी, १ लाख ३२ हजार ९८० निर्वाचन प्रहरी, ३२ हजार सशस्त्र प्रहरी, १५ हजार सशस्त्रद्वारा भर्ना गरिएका निर्वाचन प्रहरी र ८० हजार नेपाली सेना परिचालन हुनेछन्।
सुरक्षा संयन्त्रका सबै निकाय फिल्डमा पुगिसकेका छन्। अबको ध्यान संवेदनशील क्षेत्रमा प्रभावकारी समन्वय र शान्तिपूर्ण मतदान सुनिश्चित गर्नु हो।
